मनाङको दाना खोलामा ५० मेगावाट हाइड्रो, ६ बैंकसँग सम्झौता, सांसद गुरुङद्वारा सहयोग गर्ने प्रतिवद्धता
काठमाडौं । मनाङको नासोँ गाउँपालिकास्थित दाना खोलामा लालुपाते हाइड्रोपावर कम्पनी प्राईभेट लिमिटेडले ४९ दशमलव ९५ मेघावाटको जलविद्युत आयोजना निमार्ण गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा ६ वटा बैंकसहित सानिमा बैंकसँग लालुपाते हाइड्रो पावर कम्पनले वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । दाना खोला जलविद्युत आयोजनाको निमार्ण कार्य ३३ महिना रहेकोे छ ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागितामा नेपाली उर्जालाई अघि बढाउन सरकारले नीति, नियममा समय सापेक्ष परिमार्जन गरेको बताए ।
मन्त्री खड्काले बिगतमा जस्तो ‘नेपाली खोला पहुँचवालाको झोलामा’ भन्ने दिन गएको बताए । उनले जलविद्युत् र उर्जाका लागि सरकार सही लगानीकर्ताहरूको खोजीमा लागेको बताए ।
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद टेकबहादुर गुरुङले कुनै पनि योजना निर्माण गर्नको लागि सडक नभइ नहुने बताए । उनले विकासको योजना गर्दा मुख्यतः सडक नै प्राथमिक्तामा पर्ने बताए ।
‘सडक राम्रो भएन भने आयोजनाहरू समयमै सम्पन्न हुन सक्दैन’, पूर्वराज्यमन्त्री समेत रहेका नेता गुरुङले भने, ‘त्यसका साथै लगानी पनि बढ्नु पर्छ ।’
सांसद गुरुङले लालुपाते हाइड्रो पावर प्रोजेक्टको प्रमुख केन्द्र मनाङको नाचै गाउँमा रहेको र त्यहाँसम्म पुग्ने सडक अझै पनि नबनेको भन्दै सडक निमार्ण कार्य हालै मात्र शुरु भएको बताए ।
‘नाचैसम्म पुग्ने खोत्रो–नाचै सडक निमार्णमा लालुपाते हाइड्रो पावर कम्पनीले पनि सहयोग गरेमा यो सडक निमार्ण चाँडै सम्पन्न हुने र हाइड्रो पावर आयोजनाको निमार्ण कार्य पनि समयमै शुरु हुनेछ’, सांसद गुरुङले भने ।
मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनीले लमजुङको खुदीदेखि मनाङको कोतोसम्मको ५० किलोमिटर सडक विस्तार र स्तरउन्नतिको काम शुरु गरेको उनले बताए । ‘जसका कारण ठूला–ठूला निमार्ण सामाग्री बोकेको सवारी साधानहरू निमार्ण स्थलसम्म आउन सकेको छ’, सांसद गुरुङले भने ।
‘त्यसैले यस लालुपाते हाइड्रो कम्पनीले पनि खोत्रो–नाचै सडक निमार्णमा सहयोग गर्नुहुनेछ’, उनले भने । दाना खोला हाइड्रो पावर आयोजना मात्र नभएर मनाङ जिल्लामा निमार्ण हुने सबै आयोजना र विकासका काममा मनाङ जिल्लाको जनप्रतिनिधि र स्थानीय जनताहरूबाट सबै प्रकारको सहयोग रहने पूर्वराज्यमन्त्री गुरुङले बताए ।
नासोँ गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले दाना खोला जलविद्युत् आयोजना गाउँपालिकाको सम्पत्ति भएको भन्दै निधारित समयमा बिना अवरोध निमार्ण कार्य सम्पन्न गर्न व्यक्तिगत र स्थानीयको सहयोग रहने बताए ।
प्रमुख गुरुङले कम्पनीले इआई, पीपीए र सार्वजनिक सुनुवाई कार्यक्रममा व्यक्त गरेका प्रतिद्धताहरू अक्षरंश पालना हुनपर्ने बताए ।
कूल ९९६ करोड रुपियाँ लगानीमा निमार्ण हुने जलविद्युत् आयोजनामा ७४७ करोड विभिन्न बैंकहरूबाट ऋण, प्रबर्तकहरूबाट २४९ करोड लगानी रहनेछ । कूल लगानीको २४.९ करोड स्थानीयका लागि शेयर जारी गरिनेछ । स्वपुँजीको ४९.८ करोड र स्थानीय सर्वसाधरणबाट ७४.७ करोड रुपियाँ संकलन गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया