लुम्बिनीमा डीआईजीपी कार्कीले नेतृत्व सम्हालेपछि तस्करहरूको जालो भत्किन थाल्यो

मसुरिया । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मेवारी सम्हालेपछि शान्ति सुरक्षा, तस्करी नियन्त्रण र राजश्व संकलनमा जोड दिएका छन् ।

डीआईजीपी कार्कीले लुम्बिनी प्रदेशका भारतसँग सिमाना जोडिएका जिल्लाहरूबाट हुने तस्करी नियन्त्रणमा माहतलाई निर्देशन दिएका छन् । कार्कीको निर्देशनपछि कपिलवस्तु, बाँके, रुपन्देही, बर्दिया, नवलपरासीका जिल्लामा तस्करी नियन्त्रण हुन थालेको छ ।

डीआईजीपी कार्कीले ४ दिन अगाडि लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रहरी प्रमुखलाई भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै शान्ति सुरक्षा र जनतासँग जोडिएको सेवालाई सर्वसुलभ रुपमा प्रदान गर्न निर्देशन दिएका थिए । उनले विशेष गरेर भारतसँग सिमाना जोडिएका जिल्लाबाट हुने तस्करी नियन्त्रणमा निर्देशन दिएका छन् । कार्कीले सडकमा सवारी साधन र यात्रुलाई प्रहरी कर्मचारीहरूबाट सास्ती दिने गरेको सूचना आफूसमक्ष आएको पनि बताएका छन् । कानूनअनुसार डिउटीमा खटिन र आफूलाई सुधार गर्न मातहतलाई कार्कीले सचेत गराएका छन् ।

डीआईजीपी कार्कीले राम्रो कार्य गर्ने प्रहरीलाई पुरस्कार र कानून विपरितका कार्य गरेको पाइएमा त्यस्ता प्रहरी कर्मचारीलाई दण्डको भागिदार हुनुपर्ने चेतावनी समेत दिएका छन् । डीआईजीपी कार्कीले प्रहरीको कार्यसम्पादनले गृहमन्त्री, प्रधानमन्त्री र सरकारलाई सहयोग हुने गरेर जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए । उनले गृहमन्त्री र गृहमन्त्रालयले प्रश्न उठाउने गरेर कुनै पनि कार्य नगर्न मातहतलाई सचेत गराएका छन् ।

बिगतमा प्रहरीसँगको मिलोमतोमा तस्करहरूले सिमानाबाट तस्करी गर्दै आएको व्यापक गुनासाहरू रहेका थिए । कार्कीले लुम्बिनी प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेपछि तस्करहरूलाई ठूलो तनाब भएको छ । डीआईजीपी कार्कीले पूर्वसूचना बिना जिल्ला, इलाका, सिमान लगायतमा पुग्ने चेतावनी दिएका छन् ।

प्रहरी चौकीदेखि जिल्लाका घुमुवाहरू तस्करहरूसँग साँठगाँठ गरी असुलीमा ब्यस्त रहेको बिगतमा व्यापक गुनासाहरू रहेका थिए । तर, अहिले त्यहीँ घुमुवाहरू तस्करी रोक्न खटिन थालेको प्रहरीहरूले नै बताएका छन् । कार्कीले लुम्बिनी प्रदेशका जिल्लाहरूबाट गाई र गोरु तस्करी हुने गरेको सूचना आफूलाई आएको भन्दै त्यसलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

कपिलवस्तुकै शिवलवा, रंगपुर, मर्यादपुर, हर्दौना, कुशहवा, भिल्मी, बगही, कृष्णनगर, सिर्सिहवा, ठकुरापुर, गेडुवाजोत, नवरङिया जस्ता नाकाहरू तस्करीका लागि परिचित मानिन्छन् । साना ठूला सबैखाले तस्करी यिनै नाकाबाट हुँदै आएका थिए ।
डीआईजीपी कार्कीले तस्करहरूको संजालहरू क्रमशः ध्वस्त पारिदिएका छन् । विभिन्न जिल्लाहरूमा पनि केही यस्ता अवैध कारोबारहरू चलिरहेका थिए । जसलाई सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले वर्षौंदेखि रोक्न सकेका थिएनन् ।

डीआईजीपी कार्कीले मातहतसँग कार्यसम्पादनको परिणाम खोजेपछि सोहीअनुसार काम भइरहेका छन् ।

डीआईजीपी कार्कीले मातहतलाई कार्यसम्पादनमा ध्यान दिन निर्देशन दिएपछि लुम्बिनी प्रदेशका १२ जिल्ला प्रहरी प्रमुखहरू सतर्क अवस्थामा छन् । जिल्लाका प्रहरी प्रमुखहरूले पनि मातहतलाई सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

राजनीतिक शक्तिको आड र संरक्षणमा अबैध आम्दानी हुने स्थानमा अड्डा जमाएर बसेका प्रहरी कर्मचारीहरूलाई डीआईजीपी कार्कीको कार्यले तनाब भएको छ । कार्कीले प्रहरी कर्मचारीहरूलाई धमाधम आफ्नो दरबन्दी भएको ठाउँमा पठाएका छन् ।

Published : Saturday, 2025 January 4, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया