प्रचण्डलाई गगनको प्रस्ताव- ४० वटा ललिता निवास, गिरीबन्धु र क्यान्टोनमेन्टको छानबिन गरौं

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् ।

शनिबार पोखरामा थापाले संविधान संशोधन गर्दा गणतन्त्र, संघीयता, समावेशिता नचलाउने बताए । उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नुपर्ने अवस्था छ । आज मन्त्री भइरहेकाले भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ ।’

‘सुरुमा अहिले सबैको भाषणा यो सरकार बदलिँदैनबाट सुरु हुन्छ । बाहिर देशहरूमा पनि गठबन्धनको सरकार नहुने होइन’, थापाले भने, ‘त्यसमा पनि एउटा संस्कार र संस्कृति हुन्छ । त्यो हाम्रो स्वभावसँग मिलेन ।’

उनले भने, ‘त्यसैले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउँछ । हामीलाई समावेशिता पनि चाहिएको छ । त्यसैले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीमा काम गर्छौं ।’

महामन्त्री थापाले कांग्रेस ठूलो पार्टी भएकाले जिम्मेवारीबोध गरेर काम गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताएका छन् । उनले कांग्रेसमा रहेका जोसुकै भए पनि सहकारी ठगी संलग्न होस् वा मान्छेलाई बेचबिखनमा दोषी देखिए कारबाही हुने बताए ।

‘हामी पार्टी शुद्धीकरणको प्रक्रियामा लाग्नुपर्छ । अब हामी गाली खाएर बस्ने होइन’, उनले भने, ‘आफ्नै पार्टीभित्र पनि कुरा उठाऔं, जहाँ कानून बनाउने हो, त्यसमा पनि कुरा उठाऔं । निर्दोष कोही पनि पर्नुहुन्न, दोषी जो भए पनि उम्कनुहुन्न ।’

महामन्त्री थापाले चर्चामा रहेका ४० भन्दा बढी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए ।

उनले भने, ‘मैले प्रचण्डजीलाई अगाडि राखेरै भनेको हो । सरकार सँगै बसेको हुन्छ, यस्तो मायाप्रेम देखिन्छ, अहिले ४० वटा ललिता निवास, गिरीबन्धु, क्यान्टोनमेन्टलगायत जेसुकै हो । सबैको छानबिन गर्नुपर्छ ।’

Published : Saturday, 2025 January 4, 3:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया