नबुझेको मान्छे होइन कमरेड प्रचण्ड, ३ पटक प्रधानमन्त्री हुनुभयो, गाली गर्ने पद्धति त्यागौं : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा खतिवडाले व्यवसायीहरूलाई लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउँदै लगानीकर्तालाई लखेट्न नहुने बताए । उनले मुलुकको विकास र उन्नतिका लागि उद्योग, व्यवसायमा लगानी भित्र्याउनुपर्ने बताए । त्यसका लागि वातावरण बनाउने दायित्व सत्तापक्ष र प्रतिपक्ष दुबैको रहेको सभापति खतिवडाले बताएका छन् ।

उनले भने, ‘आज सरकारको कसको छ भन्ने होइन । हामी सरकारमा प्रतिपक्ष र सत्तापक्ष हुन्थ्यौं । सत्तापक्ष र प्रतिपक्षको दुरी धेरै फरक हुँदैन । एक मिटरको फरक हुन्छ ।’

‘कहिले काहिँ प्रतिपक्षमा हुँदा सरकार खुब आलोचना गर्छौं । सरकारमा हुँदा प्रतिपक्षलाई आलोचना गर्छौं’, खतिवडाले भने, ‘कांग्रेसले एमालेलाई, एमालेले माओवादीलाई माओवादीले कांग्रेसलाई कांग्रेसले अरुलाई गाली गर्छन् । गाली कसले सुन्छन् ? जनताले । यो देखाउने पद्धति हामीले अन्त्य गर्नुपर्छ ।’

सभापति खतिवडाले भने, ‘लगानीको वातावरण सिर्जना गर्नुपर्छ । व्यापारीलाई हतोत्साहित पार्ने प्रवृद्धि अन्त्य गर्नुपर्छ ।’

माओवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्याङ्ग्य गर्दै सभापति खतिवडाले भने, ‘तपाई हक्की स्वभावकै मान्छे हुनुहुन्छ । धेरै मसँग कुरा गर्दा मनमा पाप राख्नु हुन्न । ओलीजीसँग गर्दा के गर्नु हुन्छ ? मलाई थाहा छैन । म त्यतातिर पनि प्रवेश गरिन ।’

खतिवडाले भने, ‘म यत्ति अनुरोध गर्न चाहन्छु । हामी सत्तामा सत्तापक्ष र प्रतिपक्ष हौँला । तर, देशको बारेमा सत्तापक्ष, प्रतिपक्ष नहोऔँ । एक भएर यिनीहरूको समस्या समाधान गर्न लागौँ भनेर अनुरोध गर्न चाहन्छु ।’

‘कहिले काहिँ हामीले राजनीति गर्दा पार्टीको कुरा गर्छौं । कहिले जातिको कुरा गर्छौं । तर, नेपालमा लगानी गर्नेलाई लगानी गर्न दिँदैनौँ’, खतिवडाले भने, ‘हामीले हाम्रो अनुकूलता मात्रै ब्याख्या गरियो भने हामी पार्टी र जातिको मात्रै कुरा गरेर मुलुक बन्दैन । जनताको कुरा गर्ने पद्धतिको विकास गर्नुपर्छ ।’

सभापति खतिवडाले भने, ‘नबुझेको मान्छे होइन कमरेड पुष्पकमल दाहाल । ३ पटक प्रधानमन्त्री हुनुभयो । सशस्त्र द्वन्द्वबाट नेपाललाई शान्ति प्रक्रियामा अगाडि बढाउनु भयो ।’

‘आज निमन्त्रणा गर्दा पनि मलाई लाग्यो २०७९ कै गठबन्धनलाई निमन्त्रणा गर्नुभएको रहेछ । म देखिरहेको छु । अहिले गठबन्धन जहाँसुकै होस् । जोसुकैसँग होस्’, उनले भने ।

उनले भने, ‘यो गठबन्धनसँग म प्रतिबद्ध हुँला । अहिले केपी ओली र नेपाली कांग्रेसबीचको गठबन्धन छ । तर, गठबन्धन नेताहरू मन्त्री र प्रधानमन्त्री मात्रै होइन । जनताका समस्या समाधान गर्न हुनुपर्छ भन्ने मेरो धारणा छ ।’

सभापति खवितडाले व्यवसायीहरूको समस्याका विषयमा आफूले समितिका छलफल गराएको पनि बताएका छन् । उनले भने, ‘कुनै बेला उद्योगी व्यापारीहरू मुलुकमा लगानीको वातावरण असहज अवस्था हुँदाहुँदै भाग्नुपर्ने अवस्था सिर्जित भएको थियो । म राज्य व्यवस्था तथा सुशासन समितिमा सभापति भएपछि मैले पहिलाेचोटी उद्योग, व्यापारी र व्यवसाय गर्ने मान्छेहरूलाई अफ्ठ्यारो प¥यो भनेर चेम्बर अफ कमर्श, सीआईएन, उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी लगायत सबैलाई आमन्त्रण गरें । जहाँ सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागका महानिर्देशक बोलाएर छलफल प्रारम्भ गरे ।’

उनले भने, ‘सरकारको ध्यान जहिले पनि राजश्वलाई वृद्धि गरेर आफूतिर ल्याउन आकर्षित हुन्छ । लगानीको वातावरण छ कि छैन त्यो हेर्ने फुर्सद हुँदैन ।’

Published : Saturday, 2025 January 4, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया