प्यूठानमा एमाले, माओवादी लगायतका दल परित्याग गरी करीव १४५ जना कांग्रेसमा प्रवेश
प्यूठान । नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले विभिन्न राजनीतिक दल परित्याग गरेका नेता, कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत गरेका छन् ।
शनिबार प्यूठानमा आयोजित कार्यक्रममा मन्त्री राणाले नवप्रवेशीहरूलाई कांग्रेसको सदस्यतासहित पार्टीमा स्वागत गरेका हुन् ।
नेपाल तरुण दल प्यूठानको विशेष पहलमा विभिन्न पार्टी परित्याग गरेका स्थानीय नेता, कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेश गराइएको तरुण दल प्यूठानका अध्यक्ष कृष्ण बस्याल ‘रोयल’ले बताए । उनले भने, ‘लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाज्यूले झण्डै १४५ जना स्थानीय नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छौँ ।’
मन्त्री राणाले नवप्रवेशीहरूलाई कांग्रेसको पार्टी सदस्यता प्रदान गरेका छन् । उनले नवप्रवेशीहरूलाई क्षमता र योग्यताका आधारमा कांग्रेसमा जिम्मेवारी दिइने बताए ।
कांग्रेस प्रवेश गर्नेहरूमा एमाले, माओवादी, जनमोर्चा लगायत विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ता रहेका छन् । यसअघि पनि मन्त्री राणाले पटक पटक गरेर १ हजारभन्दा धेरैलाई कांग्रेसमा प्रवेश गराइसकेका छन् ।
विकास निर्माणका साथै आफ्ना मतदाताहरूको सुझाव सुन्न मन्त्री राणा गृहजिल्ला प्यूठान आएका छन् । राणाले विभिन्न आयोजनाहरूको बारेमा जानकारी लिने कार्यक्रम रहेको तरुण अध्यक्ष बस्यालले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया