कांग्रेस निकटका कानून व्यवसायीकाे गठबन्धनको शक्तिशाली जित, एमालेले १ सदस्यमा चित्त बुझायो
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) निकटको गठबन्धन सर्वोच्च अदालत बार एसोसियसनको निर्वाचनमा विजयी भएको छ ।
शनिबार काठमाडौंको रामशहापथस्थित सर्वोच्च अदालत परिसरमा भएको निर्वाचनमा कांग्रेस निकटको डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल अध्यक्षमा विजयी भएका छन् । पोखरेल ३६८ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
पोखरेलले एमाले निकटको पीपएल नेतृत्वको गठबन्धनका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश थापालाई पराजित गरेका छन् ।
सर्वोच्च बारमा ६२६ मतदाता रहेका छन् । सर्वोच्च बारमा डेमेक्रेट र कम्युनिस्ट समर्थकहरूबीच प्रतिस्पर्धा हुने गरेको छ ।
डीएलएले नेकपा (एकीकृत समाजवादी)लाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको थियो ।
एमालेको प्रगतिशील कानून व्यवसायी संघ पनि अध्यक्षबाहेक अन्य पद साना दल निकटकालाई दिएर चुनावी मैदानमा उत्रेको थियो ।
उपाध्यक्षमा डीएलए गठबन्धनका अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा महिला पुनदेवी महर्जन विजयी भएका छन् ।
कोषाध्यक्षमा रामचन्द्र पौडेल, महिला सदस्यका लागि शशि बस्नेत विजयी भएका छन् । एमाले निकट गठबन्धनबाट एक जना मात्र सदस्यको रूपमा विजयी भएका छन् ।
९ जना खुल्ला सदस्यमा आठ जना डिएलएको प्यानलबाट विजयी भएका छन् । सतिशराज मैनाली मात्र एमाले निकटको विपक्षी गठबन्धनबाट विजयी भएका छन् ।
कानून व्यवसायीहरूको संस्था सर्वोच्च बार एसोसिएसनमा कांग्रेस निकटका कानून व्यवसायीहरूले जित हासिल गरेपछि नयाँ तरंग उत्पन्न भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया