विवादित युट्युबर मनोज काठमाडौंबाट पक्राउ
काठमाडौं । आफूलाई युट्युबर बताउने विवादित व्यक्ति मनोजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले आफूलाई मनोज मानव भनेर चिनाउने गर्छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले मनोजलाई पक्राउ गरेको जनाएको छ ।
काठमाडौं प्रहरीका प्रवक्ता समेत रहेका एसपी नवराज अधिकारीले मनोजकुमार महतोलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ गरेको बताएका छन् ।
मनोजको स्थायी घर सिरहा जिल्लामा पर्छ । काठमाडौंमा बस्दै आएका मनोज निकै विवादित मानिन्छन् । मनोजलाई प्रहरीले पुस १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
मनोज विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । मनोज विगतमा रिपोर्टर्स क्लव नेपालका अध्यक्ष समेत रहेका सञ्चारकर्मी ऋषि धमलासँग अबैध असुलीको काण्डमा पक्राउ परेर लामो समय कारागार बसेका व्यक्ति पनि हुन् । एक अन्तर्वार्तामा मनोजले आफूलाई ऋषि धमलाले चन्दा असुली लगायतका गलत धन्दामा लगाएको बताएका छन् ।
सरकारले ऋषि धमलासँगै मनोजसहितका तीन सञ्चारकर्मीको मुद्दा फिर्ता लिएपछि उनीहरू छुटेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया