सहकारी ठगका अभियुक्त रविविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणबाट उन्मुक्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहिता ३९ जनाविरुद्ध काठमाडौंमा ठगीको मुद्दा दर्ता भएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सहकारी ठगी र संगठित अपराधको कसूरमा मुद्दा दायर भएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले बताएका छन् ।
लामिछानेसहितको समूहबाट २ अर्ब ४१ करोड बिगो माग दाबी गरिएको छ । लामिछानेका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । जीवी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार छन् ।
काठमाडौंमा मुद्दा दायर गरिएका कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसूर लगाइएको छैन । लामिछानेलाई सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपियाँ ५ पैसा बिगो कायम गरिएको छ ।
जोशीलाई लामिछानेलाई भन्दा बढी बिगो तोकिएको छ । उनलाई ५ करोड ७८ लाख ९६ हजार ४८० रुपियाँ बिगो कायम गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको बेला काठमाडौंमा पनि अर्को मुद्दा दर्ता भएको छ ।
गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित तत्कालीन उपाध्यक्ष जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ । यो सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपियाँ अनियमितता गरेको आरोपमा उनीहरूलाई लागेको छ ।
पूर्वकोषाध्यक्ष सविना आले मगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बराललगायत ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया