रसुवा भन्सारमा ‘बिचौलिया’ र भन्सार प्रमुखबीच निकै हिमचिम, त्रिपुरेश्वरसम्म चर्चा

काठमाडौं । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई र ‘बिचौलिया’ आकाश श्रेष्ठबीच हिमचिम बढेको देखेपछि सशस्त्र प्रहरी बल नेपाल, राजश्व अनुसन्धान विभाग पुल्चोक र भन्सारकै कर्मचारीहरूले आश्चर्य मानेका छन् ।

श्रेष्ठले चीनबाट नेपाल भित्रिने सामानहरूको राजश्व छली गर्ने गरेको आरोप लागेको छ । ५/६ वर्ष अगाडि श्रेष्ठले ब्राण्डेड सामानहरू राजश्व छली गरेर भित्र्याएपछि प्रहरीको फन्दामा परेका थिए । बेलाबेला फन्दामा पर्दा समेत श्रेष्ठको चेत खुलेको छैन । भन्सारमा खटिने प्रहरी, कर्मचारी लगायतसँग सेटिङ गरेर श्रेष्ठले राज्यलाई ठूलो क्षति पुर्‍याउने कार्य गरेको आरोप लाग्दै आएको छ । त्यसपछि भन्सार विभागकै कर्मचारीहरूले कान ठाडो बनाएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ निवासी श्रेष्ठले रसुवाबाट भन्सार छलीको कार्य गरेर भक्तपुरको दुवाकोटमा भव्य महल बनाएको स्रोतले जनाएको छ । व्यवसायी श्रेष्ठले सम्पत्ति के कसरी जोडेका हुन् ? कुनै पनि बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चाेकले पनि छापामार्न सक्ने रसुवा भन्सारकै एक कर्मचारीले बताए ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत भट्टराईले नै बिचौलियाको आरोप लाग्दै आएका श्रेष्ठलाई संरक्षण गरेको आरोप छ । उनीहरूका बीच निकै हिमचिम रहेको चर्चा छ ।

हुन त विवादस्पद व्यवसायी श्रेष्ठलाई सुन तस्करीको आरोप पनि छ । तर, सो विषयमा प्रहरीले कुनै पनि सुराक पाउन सकेको छैन ।

भन्सार विभाग, त्रिपुरेश्वरका एक कर्मचारीका अनुसार श्रेष्ठमाथि मौखिक उजुरीहरू बेलाबेला आउने गरेको बताएका छन् । श्रेष्ठमाथि विभागले निगरानी गरेको ती कर्मचारीको भनाइ छ ।

राजश्व अनुसन्धान विभागका कर्मचारीहरू पनि व्यवसायी श्रेष्ठसँग सशंकित छन् । राजश्वको राडरभित्र श्रेष्ठ परेको स्रोतको भनाइ छ ।

विवादास्पद व्यवसायी श्रेष्ठलाई नुवाकोट घर भएका नेपाली कांग्रेस निकटका कार्यकर्ता अरुण थापाले पनि संरक्षण गर्दै आएका छन् । उनीहरूको कर छलीको धन्दाका बारेमा प्रहरी प्रशासन र भन्सारका कर्मचारीहरू जानकार छन् ।

Published : Monday, 2025 January 6, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया