महिला संघको नयाँ आवेदन र नवीकरण शुल्क घट्यो, अधिवेशनका लागि डा.महत सक्रिय
काठमाडौं । नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले नेपाल महिला संघको अधिवेशन चैत्र मसान्तसम्म सम्पन्न गर्नका लागि आवश्यक कार्यहरू गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको निर्देशन समितिको बैठकले महिला संघको क्रियाशील सदस्यता नवीकरण र सदस्यता शुल्कमा हेरफेरको निर्णय गरेको छ । निर्देशन समितिका संयोजक समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महिला संघको अधिवेशन चैत मसान्तसम्म गर्नका लागि आवश्यक तयारीहरू गर्न निर्देशन दिएका छन् ।
‘नेपाल महिला संघको अधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्नका लागि अगाडि बढ्ने निर्णय भएको छ’, महिला संघकी अध्यक्ष उषा राउत मिश्रले भनेकी छिन् ।
‘नेपाल महिला संघको क्रियाशील सदस्य नवीकरण र नयाँ आवेदन शुल्क सम्बन्धमा हेरफेर गरी नयाँ आवेदन तथा नवीकरण शुल्क स्वरुप जम्मा २ सय मात्र लिने निर्णय भए वमोजिम क्रियाशील फाराम गएका जिल्लाहरूलाई सो जानकारी गराउने निर्णय भयो’, नेपाल महिला संघद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
नेपाल महिला संघ केन्द्रीय कार्य समितिको चौथो महाधिवेशन निश्चित समयमा सम्पन्न गराउनको लागि नेपाली कांग्रेसले पूर्वमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता डा.महतको नेतृत्वमा निर्देशन समिति गठन गरेको थियो । डा.महतले महिला संघको महाधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्नका लागि सहजीकरणमा सहयोग गर्दै आएका छन् ।
निर्देशन समितिको बैठकमा संयोजक समेत रहेका कांग्रेस प्रवक्ता डा.महत, समितिका सदस्यद्वय पुष्पा भुषाल र रुक्मिणी कोइराला तथा नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रको उपस्थित रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया