संविधान संशोधन तत्काल नहुने, प्रधानमन्त्री ओलीकाे नयाँ अंक गणित

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन तत्काल नहुने बताएका छन् ।

मंगलबार ललितपुरमा बसेको एमालेको केन्द्रीय कमिटीको समापन बैठकलाई सम्बोधन गर्दै ओलीले २०८७ सालमा मात्र संविधान संशोधन हुने बताएका हुन् । उनले नेपाली कांग्रेस र एमालेको मतले संविधान संशोधन गर्न राष्ट्रिय सभामा बहुमत नपुग्ने बताए ।

सरकारमा सहभागी दलहरूको बहुमत नपुग्ने भएकाले राष्ट्रिय सभाको निर्वाचन पर्खदा २०८७ सम्म संविधान संशोधन हुने प्रधानमन्त्री ओलीले बताएका छन् ।

राष्ट्रियसभाका एकतिहाई सदस्यहरूको निर्वाचन प्रत्येक दुई वर्षमा हुनेगर्छ । राजनीतिक स्थायीत्वलाई सुनिश्चित गर्ने गरी बृहत् समझदारी र सहभागितामा संविधानको समयअनुकूल संशोधन गर्ने प्रक्रिया अघि बढाउने लगायतको निर्णय एमालेले गरेको छ ।

प्रधानमन्त्री ओलीले भीमबहादुर रावललाई कारबाही गर्नुपरेको विषयमा प्रष्ट पारेका छन् । रावल लामो समयसम्म पार्टीको काममा नफर्किएको र एमालेलाई भन्दा अन्य पार्टीलाई बल पुग्ने गरी काम गरेको ओलीले आरोप लगाएका छन् ।

रावल आफैँ नरहने गरी पार्टीभन्दा पर पुगेकाले कारबाही गर्नुपरेको अध्यक्ष ओलीले बताएका छन् ।

Published : Tuesday, 2025 January 7, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया