हाइलेवलको सहकारी ठगी काण्डमा मुछिएकी एमाले नेतृ धरौटीमा रिहा

विराटनगर । उमागौरी कृषि सहकारी संस्था लिमिटेडको रकम ठगी कसूरकी प्रतिवादी अञ्जला कोइराला पोखरेललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ ।

मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रहेको सहकारीको रकम ठगीको कसूरमा प्रहरीले अञ्जलालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । अञ्जला एमालेकी नेतृ समेत हुन् । उनका पति ऋषिकेश पोखरेल प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पनि छन् ।

बुधबार मोरङ जिल्ला अदालतमा अञ्जला हाजिर भएकी थिइन् । अदालतमा बयान दिएपछि भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई बाहिरै बसेर मुद्दा लड्न पाउने गरी १० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अञ्जला विराटनगरस्थित विराट रात्रि माविकी शिक्षिकासमेत हुन् । पक्राउ पुर्जी जारी भएपछि अञ्जला फरार थिइन् । अञ्जलाको विषयलाई लिएर एमालेको राजनीतिक शक्तिको आडमा चलखेल भएको भनेर आरोप लाग्दै आएको थियो ।

मंसिर २७ गते २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार सात सय रुपियाँ बिगो दाबी गर्दै सहकारीको रकम हिनामिना कसूरमा मुद्दा दर्ता भएको थियो ।

सहकारीका वर्तमान सञ्चालक रोशन राजवंशी पुर्पक्षका लागि थुनामा गएका छन् । पूर्ववडाध्यक्ष सन्तलाल खवास ५ लाख धरौटीमा छुटेका छन् ।

सहकारीको मुद्दामा अझै २३ जना फरार छन् । प्रहरीले अध्यक्ष शम्भु रौनियारसहित २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

Published : Wednesday, 2025 January 8, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया