सहकारी ठगका अभियुक्त रवि लामिछानेले बल्ल देखे औकात
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा पठाएको छ ।
आइतबार लामिछानेसँग बयान नसकिएपछि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताएका छन् । लामिछानेलाई प्रहरीले गिरफ्तार गरेर न्यायिक हिरासतमा लगेको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ । लामिछाने थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा रहनेछन् ।
आइतबार बिहान सरकारी कार्यालय खुल्नेवित्तिकै सहकारी ठगका अभियुक्त लामिछाने अदालतमा उपस्थित भएका थिए । युद्ध जितेको जस्तै गरेर निकै ठाँटबाँठसहित लामिछाने अदालतमा उपस्थित भएका थिए ।
लामिछानेको तर्फका कानून व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस गर्नका लागि आग्रह गरेका थिए । लामिछानेको बयानलाई सरकारी वकिलले अध्ययन गर्नुपर्नेछ भनेपछि थुनछेक बहस नभएको हो ।
रास्वपाका सभापति लामिछानेविरुद्ध काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौं आएर प्रहरीको सम्पर्कमा थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया