बीआरआईमा ‘एड’ शब्दको अर्थ ऋण होइन, ऋणमा सम्झौता गरेको भनेर मात्र भन्ने गरिएको छ : डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै पनि उल्लेख नभएको बताएकी छिन् ।
सोमबार सिंहदरबारमा बसेको परराष्ट्र सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री डा.राणाले भनिन्, ‘बीआरआई सम्झौतामा ऋण लिने भनेर कतै लेखिएकै छैन ।’
‘त्यसमा प्रयोग गरिएको ‘एड’ शब्दको अर्थ पनि मैले बुझेसम्म ऋण भन्ने होइन’, परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘तर यहाँ भने किन हो नेपालले ऋणमा सम्झौता गरेको भनेर मात्र भन्ने गरिएको छ ।’
नेपालले बीआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेको र त्यसमा ऋण लिने भन्ने कुरा नलेखिएको उनले बताएकी छिन् ।
‘ऋण लिने कुरा त आवश्यकतामा आधारित हुन्छ नि’, डा.राणाले भनिन्, ‘हामीलाई ऋण आवश्यक छैन, चाहिँदैन भने दिने पक्षले लिनैपर्छ भन्छ र ?’
नेपाल र चीनबीच बीआरआई सम्झौतालाई लिएर विभिन्न खालका भ्रमहरू छर्ने प्रयास भइरहेका बेला परराष्ट्रमन्त्री डा.राणाले सम्झौताका विषयमा स्पष्ट पारेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले बीआरआई सम्झौताका विषयमा भाषा र शब्दलाई लिएर कुनै दोधार रहेमा समितिका सदस्यहरूलाई परराष्ट्र मन्त्रालयमा मन्त्रालयका कर्मचारी र विज्ञहरूले स्पष्ट पार्न तयार रहेको बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया