विपिन जोशी जीवितै रहेको सूचना, डा.राणाद्वारा रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विपिन जोशीको रिहाइका लागि अधिकतम पहल गरिएको बताएकी छिन् ।
सोमबार सिंहदरबारमा बसेको परराष्ट्र सम्बन्ध तथा पर्यटन समितिको बैठकमा डा.राणाले गएको वर्षदिनदेखि हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रुपमा पहल गरेको बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले केही दिनमात्र अघि आफूले नेपालका लागि इजरायल, इजिप्ट र कतारका राजदूतमार्फत ती देशसँग विपिनको रिहाइका लागि पहल गरिदिन पुनः आग्रह गरेको बताइन् ।
हमाससँग बन्दी रिहाइका लागि मध्यस्थता गरिरहेको कतारका विदेशमन्त्रीसँग आफूले कुरा गर्ने प्रयास गरिरहेको र एक दुई दिनमा कुराकानी गरी उनीहरूसँग पनि यसै विषयमा अनुरोध गर्ने पनि परराष्ट्रमन्त्री डा.राणाले बताइन् ।
हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला, बालबालिका एवम् नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपिन जोशीको पनि रिहाइका लागि पहल गरिदिन आफूले विदेशी समुदाय र सरोकारवालाहरूसँग आग्रह गरिरहेको उनले बताएकी छिन् ।
केही समयमात्र अघिसम्म पनि विपिन जोशी जीवितै रहेको भन्ने सूचना प्राप्त भएकाले रिहाइको पहललाई आफूले सशक्त रुपमा अघि बढाएको र संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया