भिषा र सुरक्षा प्रक्रिया पूरा गर्दा पनि कोरोला नाका सञ्चालन हुन सकेन : कांग्रेस सांसद थकाली

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले नेपाल र चीनको कोरोला नाकामा सञ्चालनमा निकै कठिनाइ भइरहेको भन्दै परराष्ट्र मन्त्रालयको जवाफ माग गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको परराष्ट्र सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद थकालीले कोरोला नाका एक वर्ष अगाडि गृहमन्त्री रमेश लेखकसहितको टोलीले उद्घाटन गरे पनि सञ्चालन हुन नसकेको गुनासो गरे । उनले कोरोला नाकालाई सञ्चालनमा ल्याउन चीनसँग कुटनीतिक पहल गर्न परराष्ट्रमन्त्री डा.आरजु राणासँग आग्रह गरेका छन् ।

सांसद थकालीले भने, ‘लामो समयदेखि बन्द रहेको कोराला नाका सञ्चालनमा आएको थियो । एक वर्ष अगाडि गृहमन्त्री रमेश लेखकज्यू लगायत हामीले अध्यागम स्थापना र उद्घान गरेका थियौं ।’

‘उद्घाटनमा मात्रै सीमित भयो कोराला नाका । भिषा र कागजी प्रक्रिया पूरा गरेर आउनेले त्यो नाकाबाट चीन जान सकिने र चीनबाट नेपालमा कोराला नाकाबाट आउजाउ गर्न सकिने भनिएको थियो’, उनले भने, ‘त्यहाँबाट हुनुपर्ने कार्यसम्पादन भएको छैन । परराष्ट्रमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले भने, ‘सन् २००१ मा तत्कालीन समयमा चीनका राष्ट्रपति जुरोङ जी र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला उहाँहरूबीच सन् २००१ मे ३ गते सिंहदरबारमा तत्कालीन समयको प्रतिनिधिसभामा संयुक्त सम्झौता भएको थियो ।’

‘नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध सुधारका लागि चलायमान नाकामा अन्य दुई वटा अतिरिक्त नाका थप्ने सहमति भएको थियो’, उनले भने, ‘कोराला र किमाथांका नाका पनि थपिएको थियो । स्थानीयले ती नाकामा हामीले व्यापार गर्दा निकै असहज भएको छ भनेर गुनासो गरेका छन् । कोरोला नाकामा नियन्त्रण भएको छ ।’

उनले बीआरआई सम्झौताले नेपाल र चीनबीच ऋण लिने बाटो खोलेको हो ? भनेर प्रश्न पनि गरेका छन् । उनले भने, ‘नेपालले हालसालै गरेको बीआरआई सम्झौतामा ग्रान्ट असिस्टेन्टको ठाउँमा एड असिस्टेन्ट बनाइएको छ । ऋणले लिने बाटो पनि खुला गरेको हो यो प्रावधानले ? यदि त्यो हो भने नेपालले थेग्न सक्ने मात्रै ऋण लिन सक्ने कुराको लागि सुनिश्चित गर्न वर्तमान सरकारले के तयारी गरेको छ ?’

कांग्रेसका सांसद थकालीले नेपाली उद्योगबाट उत्पादित सामानहरू भारतमा प्रवेशमा कठिनाइ भोग्नु परेको र केही उत्पादनहरू निर्यात गर्न नपाएको गुनासो आएको भन्दै परराष्ट्रमन्त्री डा.राणासँग कुटनीतिक पहल गर्न आग्रह गरेका छन् । ‘नेपालका व्यापारीले भारतमा निकासीमा कठिनाइ भोगिरहेका छन्’, सांसद थकालीले भनेका छन् ।

सांसद थकालीले बिगतमा चीनबाट भएको आर्थिक सहयोगको प्रतिवद्धता कति पूरा भयो भनेर प्रश्न गरेका छन् । ‘सन् २०१९ मा चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएको बेला जे कबोल गर्नुभएको थियो ५६ बिलियन डलरको अवस्था के छ ? यसमा परराष्ट्र मन्त्रालयको धारणा के छ ?’, उनले भने ।

‘भारतमा नेपाली उत्पादनहरूको प्रवेशमा केही कठिनाइ भएका छन् । गोल्डस्टार जुत्ताले भारतमा प्रवेश पाएको थियो । अहिले भारतमा प्रवेश गर्न पाएको छैन’, उनले भने ।

‘अन्य व्यवसायहरूमा पनि उद्योगी व्यवसायीले भोग्नु परेको समस्यामा परराष्ट्र मन्त्रालयले ध्यान दिनुपर्छ’, कांग्रेसका सांसद थकालीले भनेका छन् ।

Published : Tuesday, 2025 January 14, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया