रवि ६० लाख धरौटी बुझाएर रिहा, १ लाख ८० हजार सेयर खरिद गर्न निवेदन दिएको खुलासा

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो ।

अदालतको आदेशपछि लामिछानेले धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले अदालतमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएका छन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले लामिछानेले धरौटीबापत बैंक ग्यारेन्टी पेस गरेको बताए ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । लामिछाने आइतबार अदालतमा उपस्थित भएका थिए ।

गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १,८०,००० थान सेयर खरिद गर्न निवेदन दिएको देखिएको जिल्ला अदालत काठमाडौंको आदेशमा उल्लेख छ ।

धरौटीमा छोड्न दिएको आदेशमा लामिछानेले गोर्खा मिडियाको प्रबन्ध निर्देशक मात्र नभई सेयर खरिद गरिलिएको देखिएको उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु भनी कसूरमा इन्कार रही बयान गरेको देखिएतापनि प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १,८०,००० थान सेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग बमोजिम यस प्रालिमा बिक्रीमा रहेको सेयरमध्ये १,८०,००० सेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई सेयर लिएको देखिँदा निजले उक्त प्रालिको सेयर खरिद गरिलिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रालिको सेयर होल्डर एंव प्रबन्धक निर्देशक समेत रहेको देखियो ।’

लामिछानेले उक्त सेयर स्वेट सेयरमार्फत भनी बयान दिएका थिए । उनले सेयर खरिद गरेको प्रमाण उल्लेख रहेको अदालतले आदेशमा लेखेको छ ।

‘यी प्रतिवादी रवि लामिछाने आफू गोर्खा नेटवर्क मिडिया प्रालिको प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडिया नेटवर्क प्रालिबाट सेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका सेयर स्वेट सेयर वापत पाएको हुँ’, आदेशमा भनिएको छ ।

‘उक्त प्रालिबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई त्यत्तिकै सेयर हस्तान्तरण गरी गएको हुँ’, भनेको आदेशमा उल्लेख छ ।

‘प्रतिवादी रवि लामिछानेले अनुसन्धान अधिकारी र यस अदालत समक्षको बयानमा ईन्कार रही बयान गरे तापनि यी प्रतिवादीहरू उपर किटानी जाहेरी दरखास्त रहेको देखिन्छ’, आदेशमा उल्लेख छ ।

Published : Wednesday, 2025 January 15, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया