सभापति देउवाद्वारा देवीध्वज बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी देवीध्वज बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
बुधबार शोक वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बस्नेतको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले स्व.बस्नेतको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रजातन्त्र सेनानी एवं सोलुखुम्बु जिल्लाका नेता बस्नेतको पौष २४ गते राति ९८ वर्षको उमेरमा काठमाडौंको गौरीघाटस्थित आफ्नै निवासमा भएको निधनप्रति कांग्रेस गहिरो दुःख व्यक्त गरेको जनाएको छ ।
सोलुखुम्बुको चौलाखर्क लिखुखोलामा जन्मिएका बस्नेतले २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाएका थिए । मुक्ति सेनामा रहेर प्रजातन्त्र प्राप्तिको संघर्षमा नेतृत्वदायी भूमिका उनले निर्वाह गरेका थिए ।
विक्रम संवत् २०१५ सालको आम निर्वाचन पश्चात पार्टी निकट वृद्धिजीवी परिषदको राष्ट्रिय सम्मेलन हुँदा पूर्व ३ नं. बाट प्रतिनिधि चुनिएर केन्द्रीय वुद्धिजीवी परिषदको सदस्यमा बस्नेत निर्वाचित भएका थिए ।
स्व.बस्नेत नेपाली कांग्रेसको इतिहासका लेखक, संविधानसभा सदस्य एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य स्व.पुरुषोत्तम बस्नेतको दाजु तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अम्बिका बस्नेतको काका हुन् ।
स्व.बस्नेतका एक छोरा केशवध्वज बस्नेत तथा दुई छोरीहरू अनारदेवी बस्नेत (नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य) र अंगुर बस्नेत रहेका छन् ।
‘उहाँको निधनबाट नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका योद्धा, एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको छ’, शोक वक्तव्यमा भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया