हेटौँडामा बागमती प्रदेश समन्वय परिषदको पाँचौँ बैठक

हेटौँडा । बागमती प्रदेश समन्वय परिषदको पाँचौँ बैठक मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा शुरु भएको छ ।

बिहीबार हेटौँडामा शुरु भएको बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको छ । संघ, प्रदेश र स्थानीय तह ऐन, २०७७ को दफा २४ (१) को व्यवस्था अनुसार १३ जिल्लाका स्थानीय तहका प्रतिनिधिको सहभागितामा बैठक सुरु भएको छ ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, जिल्ला समन्वय समितिका प्रमुख गायतको उपस्थिति रहेको छ । बिहीबारको बैठकमा चारवटा कार्यपत्र प्रस्तुत भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका रितेशकुमार शाक्यले समन्वय परिषदको एजेण्डा, विगतका निर्णय कार्यान्वयनको अवस्था, सचिव वेदप्रसाद भण्डारीले प्रदेश तथा स्थानीय तहका कर्मचारी व्यवस्थापन, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले विपत् व्यवस्थापन र यसका चुनौतीहरू र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनालीले अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजश्व बाँडफाँड विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।

गाउँपालिका महासंघ बागमती प्रदेशको अध्यक्ष एवं तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले प्रदेश लोक सेवा आयोग र सुशासन केन्द्रलाई सक्रिय र प्रभावकारी बनाउनु पर्ने धारणा राखेका छन् ।

शुक्रबारको बैठकमा बागमती प्रदेशको दोश्रो आवधिक योजना र प्रदेश आयोजना बैंक सञ्चालन र प्रादेशिक औद्योगिक व्यापार ऐनको कार्यान्वयनको अवस्था विषयक कार्यपत्र प्रस्तुत हुनेछ ।

Published : Thursday, 2025 January 16, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया