अधिवक्तामाथि आक्रमण गर्ने रास्वपाका अराजक कार्यकर्ताहरूलाई कारबाही गर्न तरुण दलको माग
काठमाडौं । नेपाल तरुण दलले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गरेर तरुण दलका अध्यक्ष विद्वान गुरुङले अधिवक्ता त्रिपाठीमाथि हातपात एवम् कुटपिट भएको घटनाको घोर निन्दा एवम् भर्त्सना गरेका छन् ।
‘रास्वपाका सभापति रवि लामिछानेसम्बन्धी बहस सकिएर अदालत बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात एवम् कुटपिट भएको घटनाको नेपाल तरुण दल केन्द्रीय समिति घोर निन्दा एवम् भर्त्सना गर्दछ’, अध्यक्ष गुरुङले भनेका छन् ।
‘अराजक भिडले निम्त्याएको घटना पूर्णरुपमा अलोकतान्त्रिक एवम् अपराधिक कृयाकलाप रहेको पुष्टि हुन्छ’, उनले भने, ‘अदालती बहस पक्ष या विपक्षमा गर्न पाउने अधिकार र स्वतन्त्रताको बर्खिलापमा भएको घटना अप्राकृतिक भएको नेपाल तरुण दलले ठहर गर्दछ ।’
अध्यक्ष गुरुङले भने, ‘घटनाको यथार्थ छानविन गरि दोषीमाथि कडाभन्दा कडा कार्बाहीको प्रकृया बढाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
रास्वपाका कार्यकर्ताहरूले बुधबार काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि सांघातिक आक्रमण गरेका थिए । सहकारी ठगका अभियुक्त रास्वपाका सभापति लामिछानेविरुद्ध बहस गरेको प्रतिशोधमा कार्यकर्ताले त्रिपाठीलाई आक्रमण गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया