पोष्टमार्टम गरेको शवमा शंका लागेपछि दाङ प्रहरीद्वारा पुनः पोष्टमार्टम, कुरा अर्कै खुल्यो
घोराही । भरुवा बन्दुकले प्रहार गरेर २५ वर्षीय प्रेमबहादुर कसुरीको हत्या गरेको अभियोगमा प्रहरीले दाङबाट दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले पत्रकार सम्मेलन गरेर २५ वर्षीय प्रेमबहादुर कसुरीको हत्या अभियोगमा २२ वर्षीय छविलाल डाँगी र २७ वर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरिएको बताए । शनिबार छविलाललाई नेपालगञ्ज र पुष्पलाललाई तुलसीपुरबाट प्रहरीको टोलीले पक्राउ गरेको एसपी तिमिल्सिनाले बताए ।
माघ ३ गते दाङको दङ्गीशरण गाउँपालिका वडा नं. २ कौवाघारी बस्ने प्रेमबहादुर कसुरी रुखबाट लडेर घाइते भएको दाबी सहित नेपालगञ्ज लगेर उपचार गराउने क्रममा माघ ४ गते मृत्यु भएको थियो ।
नेपालगञ्जस्थित नेपालगञ्ज नर्सिङ होममा उपचारका क्रममा प्रेमबहादुरको राति साढे ८ बजे मृत्यु भएको एसपी कार्कीले बताए । प्रेमबहादुर कसुरीको मृत्यु भएपछि भेरी अस्पताल बाँकेमा पोष्टमार्फटम पश्चात बुवा अविर कसुरीले मृतकको शव बुझेर घरमा ल्याइसकेको अवस्थामा प्रहरीलाई शंका लागेर अनुसन्धान शुरु गरेको थियो ।
सो घटना सम्वेदनशील र शंकास्पद लागेपछि एसपी कार्की आफै खटिएर अनुसन्धान गरेका थिए । मृतक प्रेमबहादुर कसुरीको रुखबाट लडेर मृत्यु भएका नभई मृतक र साथीहरू सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुकको गोली (छर्रा) लागेर घाइते भइ मृत्यु भएको एसपी कार्कीले बताए । एसपी कार्कीले मृतकको शवलाई पुनः बाँकेस्थित भेरी अस्पतालमा पोष्टमार्टमका लागि शनिबार पठाएका थिए ।
पोष्टमार्टमका क्रममा प्रेमबहादुर कसुरीको शरीरबाट भरुवा बन्दुकको गोली (छर्रा) फेला परेको थियो । छर्रा फेला परेपछि प्रेमबहादुर कसुरीको हत्या भएको आशंकामा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरेको थियो ।
उक्त घटनाको अनुसन्धानका क्रममा दङ्गीशरण गाउँपालिका वडा नं. २ बस्ने वर्ष २२ को छविलाल डाँगीाई शनिबार नेपालगञ्ज र २७ वर्षीय पुष्पलाल बस्नेतलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दङ्गीशरण गाउँपालिका वडा नं. २ राजाकोट सामुदायिक बनमा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया