माओवादीको अस्थिर चरित्रले कांग्रेस–एमालेको समीकरणमा सरकार बनायौँ : प्रवक्ता डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका रहेको बताएका छन् ।
आइतबार नेपाली जनसम्पर्क समिति भारतले नयाँदिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बीपि विचार र प्रवासी समस्या विषयक अन्तक्र्रिया, प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रम डा.महतले भने, ‘भारतमा रहेका प्रवासी नेपालीहरूले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ ।’
‘कांग्रेसलाई अझै बलियो बनाउन तपाईहरूले आगामी दिनमा खेल्ने भूमिका प्रशंसनीय हुने विश्वास लिएको छु’, डा.महतले भनेका छन् ।
प्रवक्ता डा.महतले संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्ने बताएका छन् । पार्टीमा व्यक्तिवादी सोँच र आफू केन्द्रित प्रवृत्ति हावी हुन खोजेको उनले बताए ।
डा.महतले माओवादीको अस्थिर चरित्रका कारण अहिले एमाले–कांग्रेस गठबन्धन बनेको बताएका छन् ।
उनले सात बुँदे समझदारीअनुसार कांग्रेस–एमाले समीकरणको वर्तमान सरकार अगाडि बढ्नु पर्ने बताए । समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने डा.महतले बताएका छन् ।
कार्यक्रममा जनसम्पर्क समितिका सभापति बालकृष्ण पाण्डे, नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया