युवकलाई भुइँमा ढालेर कुटपिट गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी कर्मचारीले चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई कुटपिट गरेको घटनामा प्रहरी प्रधान कार्यालय, नक्सालले निलम्बन गरेको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले विज्ञप्ति जारी गरेर घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढेको जनाएको छ । चितवनमा प्रहरी कर्मचारीले एक जना युवकलाई सडकमा चेकजाँच गर्ने क्रममा पावर देखाएको भन्दै लात्तैलात्ताले भुइँमा ढालेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । यो घटनाको भिडियो हेरेपछि प्रहरीको आलोचना भइरहेको छ ।

‘चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ११ बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘पदीय मर्यादा र आचारण विपरितका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने नेपाल प्रहरीको नीतिअनुरुप घटनाको सत्य तथ्य जाँचबुझ गर्ने प्रयोजनार्थ माघ ७ गते जिल्ला प्रहरी कार्यालय, चितवनले छानविन समिति गठन गरी घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको व्यहोरा जानकारी गराउँदर्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2025 January 20, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया