प्रधानमन्त्री ओलीको पार्टीलाई मोरङमा ठूलो झट्का
विराटनगर । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै मोरङ जिल्लामा १८ जना स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
सोमबार विराटनगर महानगरपालिका–२ कमिटीका १८ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा समितिका उपसंयोजक, उपसचिव र सदस्यहरू छन् ।
विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनको सन्दर्भ जोड्दै राजीनामा दिएको जनाइएको छ ।
निर्वाचनमा स्थानीय कमिटीले राम घिमिरेलाई उमदेवारका रूपमा उठाएको थियो । तर, एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापासहितले ‘बागी’ उमेदवारलाई सहयोग गरेको भन्दै कारबाही गरेको थियो ।
थापाको कारबाहीको सिफारिस प्रदेश कमिटीले पनि अनुमोदन गरेको थियो । मतदानपछिको परिणामका विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधीन छ ।
वडाका अधिकांश पार्टी सदस्यबीच छलफल र सल्लाहानुसार गरिएको एकताको निर्णयविरुद्ध अनावश्यक विवाद सिर्जना गरी सामूहिकतालाई बेवास्ता गरिएको राजीनामापत्रमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया