सभापति थापामाथि भएको आक्रमणको बागमती प्रदेश कांग्रेसद्वारा निन्दा एवं भर्त्सना

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले पूर्वमुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापालाई आक्रमण भएको घटनाको घोर निन्दा एवम् भर्त्सना गरेको छ ।

बागमती प्रदेश कांग्रेसले विज्ञप्ति जारी गरेर आक्रमणमा संलग्न व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । ‘प्रदेश सभापति थापामाथि आक्रमणमा संलग्न अराजक र अपराधिक व्यक्तिहरूलाई कडाभन्दा कडा सजाय दिलाउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय चनाखो रहनुपर्नेतर्फ समेत सचेत गराउँदै सभापति थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, बागमती कांग्रेसले भनेको छ ।

सभापति थापालाई शनिबार साँझ झापामा नेपाल विद्युत् प्राधिकरणका दुई जना कर्मचारीले आक्रमण गरेर कुटपिट गरेका थिए । कुटपिटबाट सभापति अनुहारमा चोट लागेको छ । कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।

Published : Monday, 2025 January 20, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया