पूर्वमुख्यमन्त्री थापालाई प्रदेश सरकारले दिएको सुविधा कार्यान्वयन नगर्न आदेश
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई सवारी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद वास्तोलाको इजलासलले निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । पूर्वमुख्यमन्त्री थापा नेपाली कांग्रेस कोशी प्रदेश सभा संसदीय दलका नेतासमेत हुन् ।
थापालाई असोज १३ गते एउटा हलुका सवारीसाधन, एकजना सवारीचालक र मासिक १२५ लिटर इन्धन उपलब्ध गराउने निर्णय राजपत्रमा प्रकाशित भएको थियो ।
उच्च अदालतले थापालाई गाडीलगायतका सुविधा दिने निर्णय प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४, कोशी प्रदेश विनियोजन ऐन २०८१ एवं प्रदेश सरकारद्वारा निर्मित सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७९ समेतको विपरीत भएको जनाएको छ ।
सरकारको निर्णयपछि थापाले गाडी सुविधा प्रयोग गरेका छन् । उनले अदालतले आदेशअनुसार चल्ने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया