कांग्रेस सांसद खाँद्वारा अधिवक्तामाथिको आक्रमणको विरोध, मर्चवारको समस्याहरू समाधन गर्न माग
मसुरिया । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य बसीउद्धिन खाँले काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गर्दै दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
मंगलबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै सांसद खाँले वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणलाई न्यायालयमाथिको आक्रमणका रुपमा आफूले लिएको बताए । उनले न्यायालयमा कुनै पनि पक्षको कानून व्यवसायीमाथि अर्को पक्षबाट आक्रमण हुनु निन्दनीय रहेको बताए ।
सहकारी ठग काण्डमा मुद्दा खेप्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा सडकमा आएका कार्यकर्ताले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेर ज्यान लिने प्रयास गरेका थिए ।
यसैबीच, सांसद खाँले उपभोक्ताबाट हुने विकासका कामलाई निरन्तरता दिन लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् । उनले उपभोक्ताबाट हुने साना कामलाई पनि ठेक्का लगाउने कार्यले झन् समस्या भएको बताए ।
उनले भने, ‘भुक्तानीको कुरा सुने । मन्त्रिपरिषदबाट निर्णय भएको छ । ठेकेदार र उपभोक्तालाई ६ महिनापछि भुक्तानी गर्ने निर्णय भएको छ । ढिलै भए पनि उहाँहरूको आँशु पुच्छे काम भएको छ ।’
‘मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्तामार्फत हुँदै आएको काम नगराउने निर्णय गरिदिनुभयो । त्यसबाट उपभोक्ताहरू मर्कामा परेका छन्’, उनले भने ।
‘हामी सांसदहरू आफ्नो गाउँ, टोली, निर्वाचन क्षेत्रमा गयौँ भने मन्दिर, मस्जिद, विद्यालय लगायतमा बजेट माग हुन्छ’, उनले भने, ‘हामीले बजेट दिन्छौँ भनेर आश्वासन दिन्छौँ । दश लाखको विद्यालय बनाउँदा श्रमदानसहित २२ लाखको काम गर्नै थियो । ठेकेदारलाई ठेक्का लगाइएको छ । ठेकेदारलाई २५ प्रतिशत खर्च हुन्छ । २० लाखको ठेक्कामा १५/१६ लाखको मात्रै काम हुन्छ ।’
‘अहिले पिलर र भित्ता बन्छ, झ्याल, ढोका, रंगरोगन हुँदैन । उपभोक्ताबाट काम गर्नुपर्छ भनेर मधेश प्रदेशमा निर्णय भएको छ । हामीले पनि उपभोक्ताबाट काम गर्ने निर्णय गर्नुपर्छ’, उनले भने ।
सांसद खाँले किसानहरूलाई हरेक वर्ष रासायनिक मलको समस्या रहेको भन्दै वितरण प्रणालीमा सुधारको माग गरेका छन् ।
उनले भने, ‘हरेक वर्ष मलको समस्या छ । मलको वितरण प्रक्रया मिलेको छैन ।’ उनले मर्चवार क्षेत्रमा रहेको कोल्डस्टोर खण्डहर बन्न लागेको भन्दै सञ्चालनका लागि आवश्यक नीति, नियम बनाउन आग्रह गरेका छन् ।
‘मर्चवार क्षेत्रको समरीमाई गाउँपालिकामा कोल्डस्टोर बनाउने निर्णय भएको थियो । त्यो कोल्डस्टोरमा करोडौं रुपियाँ लागेको छ । कोल्डस्टोर खण्डहर बनेको छ । नीति नियम बनाएर कोल्डस्टोरलाई सञ्चालनमा ल्याउनुपर्छ’, उनले भने ।
सांसद खाँले मर्चवार क्षेत्रमा सिंचाइको समस्या रहेको भन्दै सिंचाइका लागि आवश्यक बजेट र कार्यक्रमको माग गरेका छन् ।
‘मर्चवार क्षेत्रमा डीपीआर गरेर सिंचाइको क्षेत्र विस्तार गर्नुपर्छ । घाघरा नदीको पानी खेर गएको छ । ईण्डियन क्यानल भन्ने नहर छ । त्यसलाई ४ सय मिटर मात्रै कनेक्ट गर्ने हो भने थप दश हजार हेक्टरमा सिंचाइ हुन्छ’, कांग्रेसका सांसद खाँले भने ।
उनले मर्चवार क्षेत्रको सडक विस्तारको कामलाई पनि बजेट व्यवस्थापन र हालसम्म भएको कामको भुक्तानी गर्न माग गरेका छन् । उनले भने, ‘मर्चवार क्षेत्रमा बेलवास–वेतरी–खाराघाट भन्ने सडक छ । ५ किलोमिटरको काम भएको छ । ठेकेदारले भुक्तानी पाएका छैनन् । बेथरी र कुट्टाको बाटो बेथरीदेखि छपियासम्मको बजेट व्यवस्था गरेर कार्यान्वयन गर्न माग गर्दछु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया