भैरहवा-पोखरा विमानस्थल चलाउन नसकेर हार खाएका अधिकारीद्वारा विदेश काम गर्न जानेलाई बाध्यकारी बनाउन प्रस्ताव
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिँदै आएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न वैदेशिक रोजगारीमा जानेहरूलाई बाध्यकारी बनाउन माग गरेका छन् ।
मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महानिर्देशक अधिकारीले स्वेच्छिक र अप्सन राखेसम्म भैरहवा र पोखरा विमानस्थलमा मानिसहरू नजाने बताए । यी दुई विमानस्थलमा भएको अनियमितताका विषयमा अध्ययन गर्न प्रतिनिधि सभाका सार्वजनिक लेखा समितिले दुई वटा उपसमिति समेत बनाएको छ । पोखरा र भैरहवा विमानस्थल सहज रुपमा सञ्चालन हुने अवस्था छैन । पोखरा विमानस्थलको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कब्जा गरेर महानिर्देशक अधिकारीमाथि छानविन गरिरहेको छ ।
अधिकारीले स्वेच्छिक राखेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको संख्या कम हुने बताएका छन् । पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न महानिर्देशक अधिकारीलाई ठूलो चुनौती बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पछिल्लो समय महानिर्देशक अधिकारीलाई काखी च्यापेका छन् । महानिर्देशक अधिकारी र मन्त्री पाण्डेबीच निकै हिमचिम छ । मन्त्री बनेर आएका पाण्डेले शुरुमा प्राधिकरणलाई विभाजन गरेर सेवा प्रदायक र नियमनकारी बनाउने भनेका थिए । महानिर्देशक अधिकारीका सामु निरिह बनेर अहिले मन्त्री पाण्डे लुसुक्क परेका छन् ।
विदेश जानेहरूका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिवद्धतासहित अघि बढ्नसके भैरहवा र पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।
‘पोखरा र भैरहवाको कुरामा अब सरकारले पनि यो कार्ययोजना पास गरेर विभिन्न क्षेत्रको कार्यक्रमहरु लिएर आएको छ । यसमा हामीले पाँच वटाको फ्लाइट भयो’, उनले भने ।
‘अहिले त्यहाँ नेपाल एयरलाइन्स अपग्रेट गरिरहेको छ, फ्लाइ दुबई अपग्रेट गरिरहेको छ । जजिरा फेब्रुअरी ३ देखि गर्छ, थाइ एसियाले फेब्रुअरी ३ देखि गर्दछ’, उनले भने ।
‘पोखरामा हिमालयले ल्हासा गर्न सकिन्छ कि भनेर हेरिरहेको छ । यसको किन फ्लाइट भएन भनेर सोधिरहँदाखेरी यसको सैद्धान्तिक कुरा के हो भने अन्तर्राष्ट्रियमा ट्राफिकहरु हेर्ने, नयाँ विमानस्थल बनाउन लाग्यो भने त्यसको फोरकास्ट गर्ने भनेको त्यो देशको अर्थतन्त्र त्यो देशको जिडिपी कति एग्रिसिप छ, कति ग्रोथमा गएको छ भन्ने हुन्छ’, महानिर्देशक अधिकारीले भने ।
‘ट्राफिक देशको हो । ट्राफिक काठमाडौंको मात्रै, भैरहवाको मात्रै, ट्राफिक पोखराको मात्रै भन्ने हुँदैन । देशको हुन्छ’, उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयको लागि पर्मानेन्ट बन्द गर्नुपर्यो भने हामी हवाई यातायातसँग अवरुद्ध हुन्छौँ त हुँदैनौँ नि ।’
महानिर्देशक अधिकारीले भने, ‘भैरहवा र पोखरा चलाउँछौँ नि । स्वेच्छिक राखेसम्म, अप्सनल राखेसम्म कोही पनि नजाने रहेछ ।’
‘अब यसको बाध्यकारी उपाय भनेको के हो भने श्रमको मान्छेलाई पोखरा, भैरहवाबाट गर्ने भनिन्छ । श्रमको थोरै दुःख छ त काठमाडौंमा । यति महंगो ट्रान्सपोर्ट, खाना, होटल छ’, उनले भने ।
‘भिसा सेन्टर एक ठाउँमा छ, अर्को अर्को ठाउँमा छ । भनौँ न त भैरहवाबाट तिम्रो लागि एयरपोर्ट डेडिकेटेड । ५ सय मिटरभित्र सबै सुविधा हुन्छ’, महानिर्देशक अधिकारीले भने ।
‘भिसा, ट्रेनिङ, इन्स्यारेन्स, मेडिकल त्यहीँ हुन्छ । भोलिदेखि चल्छ नि भैरहवा’, उनले भनेका छन् । महानिर्देशक अधिकारीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सकिरहेका छैनन् । उनको असक्षमताबाट प्रधानमन्त्री केपी ओली पनि निकै आक्रोशित भएका छन् । महानिर्देशक अधिकारीले पोखरा र भैरहवा विमानस्थल चलाउन वैदेशिक राजगारीमा जाने व्यक्तिहरूलाई बाध्यकारी नियम बनाएर ती दुई विमानस्थल चलाउने हावादारी प्रस्ताव गरेका छन् ।
महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा जबरजस्ती किन गरेको भन्ने प्रश्नको जवाफ आफूसँग पनि नरहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया