भारत र चीनको बीचमा रहेकाले त्यहाँको नीतिको असर नेपालमा पर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताएका छन् ।

बुधबार कांग्रेसको आर्थिक नीति तथा योजना विभागले वीपीनगर, ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले वैदेशिक सहयोगका विषयमा बेला–बेला विरोध हुने गरेको बताए । उनले मुलुकको हितमा वैदेशिक सहयोग लिन सकिने बताए ।

विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केही ऋणसमेत अनुदानमा परिणत हुने गरेको सभापति देउवाले बताए । एमसीसी पास गर्ने बेला ठूलो विरोध भए पनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको बताएका छन् ।

सभापति देउवाले नेपाल, भारत र चीनको बीचमा रहेकाले त्यहाँको नीतिको असर पर्नु स्वभाविक रहेको बताए । उनले त्यसले फाइदा र बेफाइदा दुवै हुने गरेको पनि बताएका छन् ।

उनले भने, ‘एक पटक एमसीसी पास गर्ने बेलामा, एमसीसी सही छाप गर्ने बेलामा धेरै ठूलो विरोध भयो ।’

देउवाले भने, ‘पार्लियामेन्टबाट पास गराउन पनि धेरै गाह्रो भयो । अहिले सबैलाई थाहा भयो की त्यो साँच्चिकै राम्रो रहेछ भनेर । यसले नेपाललाई फाइदै गरेको छ, हानी गरेको छैन भनेर ।’

सभापति देउवाले भने, ‘यो ग्रान्टमा आएको हो, ऋणमा आएको होइन । त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे । राम्रो गरेको छ ।’

व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको उनले बताए । व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने सभापति देउवाले बताएका छन् ।

उनले भने, ‘व्यापार गर्ने व्यापारीले नै हो, उद्योग खोल्ने उद्योगपतिले नै हो । सरकारले उद्योगपति र व्यापारी बन्नेकुरा पनि छैन ।’

‘हाम्रो देश भारत र चीनको बीचमा छ । त्यसको असर पनि हामीलाई पर्दछ’, उनले भने, ‘प्रभावहरू हाम्रोमा पर्दछन् ।’

Published : Wednesday, 2025 January 22, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया