दाताहरूको आफ्नै स्वार्थ हुन्छ, ऋण लिएर घिउ खानु हुँदैन : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक सहायतामा दाताहरूका आफ्ना स्वार्थ हुने बताएका छन् ।
बुधबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा थापाले ती स्वार्थ नेपालको राष्ट्रिय स्वार्थसँग नबाँझिने गरी ग्रहण गर्नुपर्ने बताए ।
उनले नेपाललाई चाहिएको लगानी एउटै एजेन्टबाट लिनु नहुने बताएका छन् । ‘डोनरहरूका पनि आफ्ना स्वार्थ हुन्छन् । हाम्रो देशको अहिलेको स्वार्थ हो छोटो समयमा बढीभन्दा बढी लगानी भित्र्याउने र छिटोभन्दा छिटो परिणाम दिने, त्यो स्वार्थसँग मिल्ने गरी सहयोग लिने हो ।’
उनले भने, ‘ऋण लिएर घिउ खानु हुँदैन भनेजस्तै हाम्रो अपेक्षा के थियो, उद्देश्य प्राप्त गर्न सकेउ वा सकेनौँ भनेर छलफल आवश्यक हुन्छ ।’
‘अदृश्य रूपमा आइरहेको सहयोगका विषयमा पनि प्रस्टता आवश्यक हुन्छ भन्ने छ । यसमा हामी प्रष्ट हुनै पर्छ’, उनले भनेका छन् ।
उनले सरकारमा हुँदा एउटा, बाहिर हुँदा अर्को नीति हुने दोहोरो चरित्र राजनीतिक दलबाट अन्त्य गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेसले सरकारमा हुँदा र बाहिर हुँदा समान धारणा राख्दै आएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया