भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री डा.राणा दुखी, राजदूतहरूसँग फोनमा कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनाको खबरले आफू निकै मर्माहत भएको बताएकी छिन् ।

बिहीबार डा.राणाले रेल दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गरेकी छिन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई शुक्रबार बिहान फोन गरेर महाराष्ट्रमा भएको रेल दुर्घटनाबारेप्रति चिन्ता जनाएको बताएकी छिन् । डा.राणाले भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मासँग पनि फोनमा कुराकानी गरेर दुर्घटनाका विषयमा जानकारी लिएकी छिन् ।

भारतमा भएको रेल दुर्घटनामा नेपालीहरू पनि परेका छन् । दुर्घटनामा परेका नेपालीहरूका विषयमा पनि डा.राणाले जानकारी लिएकी हुन् ।

उनले भनेकी छिन्, ‘भारतको महाराष्ट्रमा हिजो भएको रेल दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले निकै दुःख लागेको छ । यस दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा उहाँहरूका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

‘आज बिहान भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मा र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई फोन सम्पर्क गरी उद्वार एवं घाइतेहरूको स्वास्थ्य उपचारमा तदारुकताका लागि भारत सरकार र सम्बद्ध सरोकारवालाहरूसँग आग्रह गरेकी छु ।’

Published : Thursday, 2025 January 23, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया