सवारी साधनको चाबी जथाभावी नथुत्न ट्राफिक प्रहरीलाई अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले सवारी साधनको जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने नगर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको इजलासले सवारी साधनको चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने काम कानून विपरितको रहेको भन्दै सो कार्य नगर्न निर्देशनात्मक आदेश दिएको छ ।
व्यक्तिगत सम्पत्ति र दुःख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानून बमोजिम मात्र कार्य गर्न उच्च अदालतको आदेशमा उल्लेख छ ।
सडकको बीचमा बसेर विदेशी पर्यटकको समेत चाबी खोसेपछि प्रहरी विवादित समेत बनेको थियो । कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर भएको थियो ।
विवेक चौधरीले प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैर काननी रहेको र तत्काल यसलाई रोक लगाउनुपर्छ भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान छ र दफा १६० मा दण्ड सजायको प्रावधान रहे पनि जथाभाबी गरेको निवेदनमा उल्लेख छ ।
ट्राफिक प्रहरीले बिल बुकमा कर तिर्न ढिला भएको रहेछ भने पनि जरिवाना लगाउने गर्छ । जबकी कर तिर्ने बेला यातायात कार्यालयमा सवारीधनीले जरिवाना तिर्नुपर्छ । बिल बुकको कर तिर्न ढिलाइ भएको विषयमा ट्राफिक प्रहरी र यातायात कार्यालयले जरिवाना लिएर दोहोरो मार पार्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया