मकवानपुरगढी दरवार क्षेत्रको संरक्षण गर्न मास्टर प्लान बनाउनुपर्छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंहलामाले पुरातात्विक महत्व बोकेको पर्यटकीय क्षेत्र मकवानपुरगढीको संरक्षण गर्न नसकेको बताएका छन् ।
बिहीबार मकवानपुरको मकवानपुरगढीमा विजय उत्सवको उद्घाटन गर्ने क्रममा लामाले देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मकवानपुरगढी दरवार क्षेत्रको संरक्षण एवम् प्रबर्द्धनका लागि मास्टर प्लान बनाएर लैजानुपर्ने बताए । उनले मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुल्याउने प्रकृतिका काम गर्नुपर्ने बताएका छन् ।
आजकै दिन नेपाली गोरखाली सेनाले पहिलो पटक विदेशी सेनालाई पराजित गरेको थियो । २६१ वर्ष पहिले आजैको दिन अर्थात माघ १० गते गोरखाली सेनाले मुलस सेनालाई पराजित गरेको थियो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा विशेष कार्यक्रमको आयोजना गरि गाउँपालिकाले विजय उत्सव मनाइएको छ ।
मकवानपुरको मकवानपुरगढी मुकाम रहेको सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइ हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न गएका थिए ।
मकवानपुरगढीमा तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरण अभियान अन्र्तगत कब्जा गरेपछि सेनले उक्त समयको आधुनिक हात हतियारसहितको मुगल सेनाको हजारौ टोली लिएर मकवानपुरगढी आक्रमण गर्न आइपुगे । आक्रमणको पथ प्रदर्शक पराजित सेन राजा दिग्वन्धन सेन थिए ।
चुरिया डाँडा काटेर १८१९ पौष २७ गते मीरकासिमको फौजले हर्नामाडी चौकी आक्रमण गरे । आक्रमणमा करिब ३ हजार फौजीहरू खटाइएको थियो । मुगलका सेना प्रमुख मिरकासिमको फौजले सुरुमा मकवानपुरगढीको बेसी अर्थात हर्नामाडीमा रहेको चौकीमा आक्रमाण गरेका थिए ।
करिब ३ हजार फौजसहित १८१९ पौष २७ गते मीरकासिमको फौजले हर्नामाडी चौकी आक्रमण गरेपछि उक्त खबर पृथ्वीनारायण शाहा समेक्ष पुगेको थियो ।
हर्नामाण्ी आक्रमणपछि मकवानपुरगढी कब्जा गर्न हिँडेका मुगल सेनालाई रोक्न उक्त समय दरबार भन्दा केहि मुनि रहेको शिखरकटेरीबाट ढुंगामुडा बर्साइरहेका थिए ।
मुगल सेनालाइए रोक्न पृथ्वीनारायण शाहले दहचोकबाट गोर्खालीका सेनापति नहर सिंह बस्न्यात, केहलर सिंह बस्न्यात, वंश राज पाँडे, जीव शाह, हर्कपन्त, रामकृष्ण, कुँवरको नेतृत्वमा गोर्खाली सेना पठाएर मुगललाई गढी उक्लना रोकेका थिए ।
युद्द हुँदै जादा विक्रम संवत् १८१९ माघ १० गते भएको अन्तिम लडाईमा मिरकासिमका नायव नवाव सेनाको हार भयो । यस युद्धमा मीरकासिमका सत्र सय जवान र गोर्खालीका ३० जना सेनाको मृत्यु भएको थियो । युद्धबाट गोर्खालीलाई ५ सय बन्दुक, २ तोप, बारुद, गोला लाभ भएको थियो ।
मुगललाई गोर्खालीहरूबाट पराजित गरेपश्चात राजा पृथ्वी नारायण शाहबाट मकवानपुरगढीमा पहिलो विजय उत्सव मनाइएको थियो । सोहि दिनमा उक्त ऐतिहासिक दिनको सम्झनामा माघ १० गते विजयाउत्सव मनाउने गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया