प्रधानमन्त्री ओली र सभापति देउवासहितका नेताहरूकाे पावरफुल तीन निर्णय
काठमाडौं । संविधान संशोधन र कानून निर्माणमा गृहकार्य गर्न नेपाली कांग्रेस र एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले कार्यदलहरू बनाउने निर्णय गरेको छ ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको संयन्त्रको बैठकले ३ वटा कार्यदल बनाउने निर्णय गरेकाे हाे । दुई वटा कार्यदलमा रहने सदस्य तोकिसकेको छ । संविधान संशोधनको गृहकार्य गर्ने कार्यदलमा सदस्य छनोट गर्न बाँकी रहेकाे गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन् ।
औद्योगिक र व्यापारिक क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणमा बाधक रहेका कानूनको खारेजी र संशोधन गर्ने विषय पहिचान गर्न कानूनी पृष्ठभूमि रहेका विज्ञ समूहको कार्यदल बनेको छ ।
कार्यदलमा अधिवक्ता सेमन्त दाहाल, योजनाविद् प्रताप पौडेल, वरिष्ठ अधिवक्ता अरुण पौडेल, पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, गण्डकीका पूर्वमुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे र वरिष्ठ अधिवक्ता केदार कोइराला सदस्य छन् । कार्यदलले संघीयता कार्यान्वयन र सेवा प्रवाह छिटोछरितो बनाउन आवश्यक कानून निर्माणमा सहजीकरण गर्ने गृहमन्त्री लेखकले बताएका छन् ।
संसदमा विचाराधीन विधेयकलाई छिटो माध्यमबाट अघि बढाउन कांग्रेस र एमालेका प्रमुख सचेतकसहित पार्टीका एक/एक सदस्य रहेको अर्को समिति गठन गरिएको छ । समितिमा प्रमुख सचेतकसँगै एमालेबाट योगेश भट्टराई र कांग्रेसबाट जीवन परियार छन् ।
विधेयकमा देखिएका विवाद र फरक मतमा समाधान खोज्न पार्टी प्रतिनिधिले सहजीकरण गर्ने भनिएको छ । संविधान संशोधनका लागि आवश्यक समीक्षासहित विषयवस्तु पहिचान गर्न गठन गरिने कार्यदलका लागि भने सत्तारूढ दुवै दलले नाम दिन बाँकी छ ।
कांग्रेस र एमालेले कानून बनाउने र सरकारका कामलाई थप प्रभावकारी बनाउन गृहकार्य थालेका छन् । मुलुकमा राजनीतिक स्थायित्वका लागि कार्यदलहरू बनेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया