परराष्ट्रमन्त्री डा.राणाद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन् ।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणाले राजदूत बाससँग नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । जोशीलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न डा.राणाले इजरायल सरकारसँग आग्रह गरेकी छिन् ।
हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा परराष्ट्रमन्त्री डा.राणाले इजरायली राजदूतसँग जानकारी लिएकी हुन् ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न परराष्ट्रमन्त्री डा.राणाले राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेको निजी सचिवालयले जनाएको छ ।
इजरायली राजदूत बासले हमासको नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिना अघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका छन् ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए ।
त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन् । उनीहरूमध्ये ३४ जनालाई मुक्त गर्न लागिएको तयारी हमास समूहले गरिरहेको समाचार आएको छ ।
हमासले पहिलो चरणमा महिला, बालबालिका र बृद्धबृद्धाहरू अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएकाले विपिन जोशीलाई पनि रिहाइका लागि पहल गर्न नेपाल सरकारले आग्रह गरेको छ ।
विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरुका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री डा.राणाले अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया