शेखर कोइरालालाई सभापतिमा सहयोग गर्न नसक्ने डा.शशांक कोइरालाको संकेत

घोराही । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले १५औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति छाड्न नसक्ने संकेत गरेका छन् ।

आइतबार नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा डा.कोइरालाले रगतको नाताले मात्रै नहुने बताए । उनले विचारको एकता नहुँदासम्म कोइराला परिवार एक हुनुको अर्थ नहुने बताएका छन् ।

उनले भने, ‘म अब पार्टी बनाउने अभियानमा छु । म नेतृत्व गरेर पार्टीलाई अझ बलियो बनाउन चाहन्छु ।’

‘त्यसका लागि कार्यकर्ताको साथ र सहयोग चाहिन्छ । मैले त्यो साथ खोजेको छु’, डा.कोइरालाले भने, ‘विचार मिल्नेहरूसँग एकता हुन्छ, नमिले परिवार र बाहिरको भन्ने हुँदैन ।’

उनले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन सक्ने बताए । डा.कोइरालाले १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने सोंच बनाई देशभरिका नेता तथा कार्यकर्ताहरूलाई भेट्ने क्रममा आएको बताए ।

‘विधानअनुसार कांग्रेसको महाधिवेशन चार–चार वर्षमा हुनुपर्छ । कांग्रेसले आफ्नो जीवनमा विधानको त्यो व्यवस्था मानेको छैन’, उनले भने, ‘चार वर्षमा हुनुपर्ने महाधिवेशनलाई कांग्रेसले धकेलेर साढे ५ वर्षसम्म पु¥याएको छ ।’

‘नेताहरूले पार्टी विधानको बाध्यकारी पालना र समयमै १५औँ महाधिवेशन हुनुपर्ने विषयलाई जोड दिएर उठाएका छन्’, उनले भने ।

‘कांग्रेसको १४औँ महाधिवेशन ०७८ को मंसिरमा भएको थियो । जसअनुसार विधानले तोकेबमोजिम नै महाधिवेशन हुने हो भने ०८२ को मंसिरमा महाधिवेशन भइसक्नुपर्छ’, नेता डा.कोइरालाले भने ।

‘विधानमै यस्तो पनि व्यवस्था छ कि विशेष अवस्थामा थप एक वर्ष समय थप गर्न मिल्छ’, उनले भने, ‘त्यसरी थपिएको समयमा समेत महाधिवेशन नभए संविधानले थप छ महिना म्याद थपेर पार्टीको महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ ।’

नेता डा.कोइरालाले भने, ‘कांग्रेसले संविधानको यही व्यवस्थालाई अंगालेर १३औँ महाधिवेशन भएको साढे पाँच वर्षपछि ०७८ मंसिरमा महाधिवेशन गरेको थियो ।’

उनले सरकारले जनतामा आशा जगाउन नसकेको बताएका छन् । डा.कोइरालाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा उत्साह भए पनि ६ महिनाको बीचमा जनतामा निराशा छाउँदै गएको बताए ।

अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्बनापूर्ण भएको बताउँदै उनले कांग्रेसका जिम्मेवार पदाधिकारी संसदलाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बसेको आरोप लगाए ।

‘ठूला दल मिलेको सरकारले जनतामा जति आशा जगाउनु पथ्र्यो त्यति काम हुन सकेन’, उनले भने, ‘आशा गरेका पार्टीले सरकारमा पुगेर भने जस्तो काम नगरेपछि जनतामा निराशा बढेको छ ।’

Published : Sunday, 2025 January 12, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया