पुर्खादेखि चलिआएको संस्कार, संस्कृति र परम्परा भत्काउनेलाई परिवर्तनकारी भन्न मिल्दैन : मोहन बस्नेत

मेलम्ची । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पुर्खादेखि चलिआएको संस्कार, संस्कृति र परम्परालाई भत्काउँदैमा परिवर्तनकारी भन्न नमिल्ने बताएका छन् ।

मंगलबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ३ हैबुङमा आयोजित लोकेश्वरी महादेव मेलामा सम्बोधन गर्दै नेता बस्नेतले चाढ, पर्व, मेला, महोत्सवहरूलाई व्यवस्थित र मर्यादित बनाउँदै समयानुकूल सञ्चालन गर्नुपर्ने बताए । उनले स्थानीय पर्यटनलाई प्रबर्द्धन गर्नुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका बस्नेतले कला र संस्कृतिलाई बचाउनुपर्ने बताएका छन् ।

बस्नेतले आफू निर्वाचित भैसकेपछि विकास निर्माणमा होस् वा विपदमा समयमा पुगेर सहयोग गरेको बताए । उनले हैबुङमा सञ्चालित क्षेत्रीय अस्पताल सञ्चालनमा आए पनि नगरपालिका र आफू स्वास्थ्यमन्त्री भएपछि सहमति कार्यान्वयनमा गएको बताएका छन् ।

एउटै वडामा २९ वटासम्मका योजना आफूले राखिदिएको उनले बताएका छन् । कांग्रेस नेता बस्नेतले जिल्लाको विकासका लागि आफू कहिले नभाग्ने बताए ।

पूर्वमन्त्री बस्नेतले गत आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै बजेट विनियोजन गरेको बताए । उनले निर्वाचनमा आउँदा फरक फरक पार्टीबाट प्रतिनिधित्व गरे पनि निर्वाचनमा जितिसकेपछि जनप्रतिनिधिहरू साझा व्यक्ति भएको हुँदा विकास जसले गरे पनि हुने बताएका छन् ।

Published : Wednesday, 2025 January 15, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया