जर्मन नागरिकसँग बिहे गरेकी स्वघोषित अराजक अभियन्ता स्वयम्भुमा पक्राउ
काठमाडौं । जर्मन नागरिकसँग विवाह गरेर लामो समयपछि नेपाल फर्किएर स्वघोषित सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छिन् ।
काठमाडौं, भक्तपुर, धादिङमा कानून विपरितका गतिविधि गर्दै आएकी तामाङलाई प्रहरीले काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई पक्राउ गरेको जनाएको छ ।
तामाङलाई प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले तामाङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ ।
पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्रसहितको जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्वघोषित अभियन्ता तामाङविरुद्ध प्रहरीले पुस २८ गते अभद्र व्यवहार कसूर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
तामाङले पशुपति क्षेत्र विकास कोष परिसरमा महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो । आफूलाई सामाजिक अभियन्ता भन्दै तामाङले दुर्व्यवहार गरिएका भिडियो फेसबुकलगायत सामाजिक सञ्जालमा राख्ने गरेकी छिन् ।
तामाङ प्रहरी, सरकारी कर्मचारी, व्यवसायी लगायत सबैलाई अभद्र व्यवहार गर्दै आएकी छिन् । उनका हर्कत र गतिविधिले सिमाना काट्न थालेपछि प्रहरीले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया