पाल्पा प्रहरीद्वारा रामपुरका ईन्स्पेक्टर नेपालीलाई ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले इलाका प्रहरी कार्यालय, रामपुरका कार्यलय प्रमुख प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीलाई ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै सम्मान प्रदान गरेको छ ।

आइतबार तानसेनस्थित जिल्ला प्रहरी कार्यालय पाल्पामा पाल्पाका प्रहरी प्रमुख (एसपी) नरेन्द्र चन्दले ईन्स्पेक्टर नेपालीलाई २०८१ साल पुषको ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेका हुन् । एसपी चन्दले ईन्स्पेक्टर नेपालीलाई कार्यसम्पादन गरेको सम्मान पत्रसमेत प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी निरीक्षक नेपालीले विभागीय आदेश, निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै एसपी चन्दले प्रशंसा गरेका छन् ।

पुष २५ गते राति २२ः३० बजेको समयमा रम्भा गाउँपालिका वडा नं. १ भवरमा केही मानिसहरूले सडक आवजावत गर्ने सवारी साधानलाई रोकेर कानून विपरितका कार्य गरेका थिए ।

सवारी साधन रोकेर कानूनले वर्जित कार्य गरेको सूचना पाउनसाथ तत्काल घटनास्थलमा पुगेर दाउरा लोड भएको ट्रक रोकीराखेको घटनामा संलग्न ४ जना मानिसहरूलाई ईन्स्पेक्टर नेपालीले नियन्त्रणमा लिएका थिए ।

पुष २८ गते दिउसो १४ः०० बजेको समयमा रामपुर नगरपालिका वडा नं. ७ र ५ बाट २ किलोग्राम गाँजासहित आफ्नै घरमा लागुऔषध गाँजा खरिद बिक्री गरी रहेका २ जनालाई ईन्स्पेक्टर नेपाली नेतृत्को टोलीले नियन्त्रणमा लिएको थियो ।

गाँजाको कारोबार भइरहेको गोप्य सूचना पाउनासाथ खटिएर २ जनालाई पक्राउ गरिएको थियो ।

कात्तिक १४ गते रम्भा गाउँपालिकास्थित रम्भा रिसोर्टमा जुवा खेलीरहेको अवस्थामा छापामारेर ईन्स्पेक्टर नेपालीले मानिहरू पक्राउ गरेका थिए ।

कात्तिक ११ गते रामपुर नगरपालिका वडा नं. ४ काँसघारीमा बस्ने रामबहादुर थापाको घर कोठाबाट सुनको गरगहना तथा पार्किङ गरी राखेको भ्यान जीपबाट सामानहरू चोरी भएको घटनामा पनि ईन्स्पेक्टर नेपालीले सफलतापूर्वक अनुसन्धान गरी दोषीलाई पक्राउ गरेका थिए ।

‘यस कार्यालयको वडा एरियमा गुण्डागर्दी, चोरी नियन्त्रण गरि शान्ति सुरक्षा कायम तथा फरार प्रतिवादी पक्राउ गरि उत्कृष्ट कार्य गरेको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल पुष ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ प्रदान गरिएको छ’, जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी चन्दद्वारा प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय रामपुर ठूलो क्षेत्र पर्छ । शान्ति सुरक्षा लगायतमा रामपुर क्षेत्रलाई प्रहरीले सम्वेदनशील मान्दै आएको छ ।

यसअघि, प्रहरी निरीक्षक नेपाली कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत रहँदा पनि तालिमको आन्तरिक तथा बाह्य प्रशिक्षण कार्यमा उत्कृष्ट कार्य गरेको भन्दै २०८० चैतमा उत्कृष्ट प्रहरी घाषित भएका थिए ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेपछि मातहतलाई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । कार्यसम्पादनमा उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कार र संगठनको हित विपरित कार्य गर्नेलाई दण्डको व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । डीआईजी कार्कीले सबै जिल्लाहरूलाई प्रत्यक महिनामा आफूले गरेका कामको पत्रकार सम्मेलन गरेर जानकारी गराउन निर्देशन दिएका छन् । आफूले पनि सबै जिल्लाको रिपोर्ट लिएर प्रत्यक महिना पत्रकार सम्मेलन गरेर जानकारी गराउनेछन् ।

Published : Sunday, 2025 January 19, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया