पहुँच नभएका जनताको कुरा सुनुवाई गरेको भन्दै डीआईजी कार्कीको लुम्बिनी प्रदेश सभामा सांसदहरूद्वारा प्रशंसा

मसुरिया । जनमत पार्टीका लुम्बिनी प्रदेश सभाका सदस्य सीके गुप्ताले लुम्बिनी प्रदेश प्रहरीको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले सम्हालेपछि पहुँच नभएका जनताको कुराको प्रहरीमा सुनुवाई हुन थालेको बताएका छन् ।

आइतबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका गुप्ताले संघीयता आएको सात वर्षपछि लुम्बिनीका प्रहरीले बल्ल पहुँच नभएका जनताको कुराको सुनुवाई गरेको बताए ।

उनले भने, ‘लुम्बिनी प्रदेश प्रहरीका प्रमुख (डीआईजी) दानबहादुर कार्कीजीलाई म धन्यवाद दिन चाहन्छु । संघीयता आएको सात वर्ष भइसक्यो । अहिले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा धेरै पीडितहरूको कुरा सुनुवाई भएको अवस्था छ ।’

‘सामान्य व्यक्तिले, सामान्य व्यक्तिको कुरा, कुनै राजनीतिक दलसँग पहुँच नभएको व्यक्तिको कुरा, प्रहरी प्रशासनले सुन्दैन थियो । त्यो सब कुराहरू अहिले आम जनताको अर्थात् पीडितको कुराहरू धेरै सुनुवाई भएको छ ।’

‘पीडितहरूसँग प्रहरी साथीहरू पहिलाभन्दा अहिले राम्रो सेवा दिइरहनु भएको छ । म लुम्बिनी प्रदेश प्रहरी प्रमुखसहित अन्य प्रहरी साथीहरूलाई धन्यवाद दिन चाहन्छु । हामीले डीआईजी दानबहादुर कार्कीको नेतृत्वप्रति आशा गरेका छौँ ।’, प्रदेश सभा सदस्य गुप्ताले भने ।

उनले भने, ‘यसअघि जुन पार्टीको गृहमन्त्री थियो त्यही पार्टीको कार्यकर्ताको मात्रै कुराको सुनुवाई हुने गरेको थियो । हामी जुन पार्टीको भए पनि सबै जनताको लागि बराबर काम गर्नुपर्छ । हाम्रो जिम्मेवारी हो । हाम्रो दायित्व हो ।’

डीआईजी कार्कीले लुम्बिनी प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेपछि शान्ति सुरक्षा स्थापना, जनताको समस्याको पहिलो प्राथमिकतामा राखेर सुनुवाई, तस्करी नियन्त्रण, अपराधीलाई कारबाही लगायतका विषयमा कडाइ गरेका छन् । प्रहरीले अबैध असुली गरेको भनेर आरोप लागेका बेला डीआईजी कार्कीले गैरकानूनी क्रियाकलाप रोक्न प्रयास गरेका छन् । कार्कीले राम्रो कार्यको सुरुवात गरेपछि लुम्बिनी प्रदेश सभामा उनको प्रशंसा भएको छ ।

Published : Sunday, 2025 January 19, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया