सहकारी ठगका अभियुक्त रविको पक्षमा लागेर अधिवक्ता कुटपिट गर्ने महिला पनि पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा जिल्ला प्रहरी परिसर काठमाडौंले ५५ वर्षीय शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको छ ।

झापाको बुद्ध शान्ति गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने राईलाई पक्राउ गरिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

माघ २ गते वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी राई फरार रहेकी थिइन् । सहकारीको करोड रकम हिनामिना र ठगीका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारीपीडितको पक्षबाट बहस गरेको भन्दै राईसहितका समूहले वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेका थिए । कुटपिटमा संलग्नहरू रास्वपाका कार्यकर्ता हुन् ।

माघ ६ गते पक्राउ परेकी राईलाई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ ।

यसअघि, वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा रास्वपाका दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाँउपालिका वडा नं. १ स्थायी वतन भई जिल्ला ललितपुर महालक्ष्मी नगरपलिका वडा नं. ५ टीकाथली बस्ने वर्ष ४८ ललितकुमार के.सी. रहेका छन् ।

हुम्लाको अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौं सूर्यदर्शन हाईट बस्ने वर्ष ३२ को महानन्द जैसी भन्ने महेन्द्र पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Published : Monday, 2025 January 20, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया