स्वर्गद्वारी यातायातले अर्खा–काठमाडौं सिधा बस सेवा सञ्चालन गर्ने

विमलप्रसाद पोखरेल

बाग्दुला । स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.ले प्यूठानको अर्खादेखि काठमाडौंसम्म सिधा बस सेवा संचालन गर्ने निर्णय गरेको छ ।

सोमबार प्यूठानमा बसेको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.को कार्यसमिति बैठकले अर्खादेखि काठमाडौंसम्म रात्रिसेवा बस सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । २६ सिट क्षमताको एसी डिलक्स बस सञ्चालन हुनेछ । अर्खा गौमुखी गाउँपालिकाको निकै विकट मानिन्छ । उत्तरी भेगमा पर्ने अर्खाका यात्रुले काठमाडौंसम्मको यात्रा गर्न अब सुविधा पाउनेछन् ।

अर्खा–काठमाडौं बससेवा सुचारु गर्न चार वटा बस संचालनमा ल्याउनुपर्ने हुन्छ । बस सञ्चालनका लागि ईच्छुक व्यवसायीहरूका लागि दश दिनको सूचना निकालिएको छ । स्वर्गद्वारी यातायातका प्रबन्धक कुमार श्रेष्ठले माघ ८ गतेदेखि १० दिनभित्र इच्छुक व्यवसायीलाई निवेदन दिन आग्रह गरिएको बताए ।

स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.मा रही २१ वर्षसम्म कार्यलय प्रमुखको जिम्मेवारी सम्हालेका घनश्याम घर्ती अवकासमा गएका छन् । कार्यलय सहायक प्रमुख विकास सुवेदी कार्यलय प्रमुखमा बढुवा भएका छन् । लेखापाल दीपेन्द्र श्रेष्ठलाई कार्यलय साहयक प्रमुखमा बढुवा गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

यसैबीच, स्वर्गद्वारी यातायातका संरक्षक एवम् पूर्वअध्यक्ष सुनिल बस्नेतले अवकासमा जान लागेका घर्तीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर विदाइ गरेका छन् । संरक्षक बस्नेतले घर्तीलाई १ वर्ष बराबरको तलव पनि स्वर्गद्वारीको तर्फबाट प्रदान गरेका छन् ।

कार्यलय प्रमुखमा बढुवा भएका सुवेदी, कार्यलय सहायक प्रमुखमा बढुवा भएका श्रेष्ठलाई नियुक्ति पत्र पनि प्रदान गरिएको छ ।

Published : Monday, 2025 January 20, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया