प्यूठान, बाग्लुङ र स्याङ्जाका तीन जना काठमाडौंबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाग्लुङको ताराखोला गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुशी बस्ने ३४ वर्षीय तिलकबहादुर कार्की, प्यूठानको नौबहिनी गाउँपालिका–६ घर भई काठमाडौंको बल्खु बस्ने ३६ वर्षीय हरिबहादुर बिष्ट र स्याङ्जाको गल्याङ नगरपालिका–८ घर भई काठमाडौंको बानियाटार बस्ने ३४ वर्षीया जमुना परियार रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये तिलकले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपियाँ, हरिले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपियाँ र जमुनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तिलकलाई आइतबार तथा हरि र जमुनालाई सोमबार पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया