सात बुँदे सहमतिअनुसार सभापति शेरबहादुर देउवाले चुनाव गराउनु हुन्छ : उपप्रधानमन्त्री सिंह
बाग्लुङ । नेपाली कांग्रेसका नेता समेत रहेका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले कांग्रेस–एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार भएको बताएका छन् ।
मंगलबार बाग्लुङमा नेपाली कांग्रेस बाग्लुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री सिंहले सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको बताए । उनले सहमतिअनुसार नै कांग्रेस– एमालेबीच सत्ता सहयात्रा अघि बढ्ने बताएको बाग्लुङ कांग्रेसका सभापति जीतबहादुर शेरचनले बताए ।
‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्’, सिंहले भने, ‘स्थिर सरकार बनोस् भन्ने चनचाहनाअनुरूपनै वर्तमान सरकार बनेको हो ।’
उपप्रधान एवम् स्थानीय विकासमन्त्री सिंहले भने, ‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ ।’
नेता सिंहले कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको बताए । पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने सिंहले बताएका छन् ।
उनले केही तत्वहरू कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताए । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनले बताएका छन् ।
बाग्लुङका नेता कार्यकर्ता भेटघाटका क्रममा केन्द्रीय सदस्य किरण पौडेल नेपाली कांग्रेस बाग्लुङका सभापति एवम् गण्डकी प्रदेशसभाका सांसद जीतबहादुर शेरचन लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया