एमालेको विधान अधिवेशन भदौमा हुने, धाेकेवाज वामदेवलाई भित्र्याउन नेताहरूले रुचि देखाएनन्

एमालेको विधान अधिवेशन भदौमा हुने, बामदेवलाई भित्र्याउन नेताहरूले रुचि देखाएनन्
काठमाडौं । नेकपा (एमाले)ले पार्टीको विधान अधिवेशन २०८२ साल भदौमा गर्ने निर्णय गरेको छ ।

मंगलबार बालकुमारी, ललितपुरस्थित पार्टी कार्यालयमा बसेको एमालेको सचिवालय बैठकले २०८२ भदौ २०, २१ र २२ गते विधान अधिवेशन गर्ने निर्णय भएको एमालेले जनाएको छ । विधान अधिवेशन गोदावरी, ललितपुरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।

एमालेले सचिवालय बैठकमा पछिल्लो राजनीतिक विषयमा पनि छलफल गरेको छ । एमालेमा समाहित हुन चाहने नेता र दलहरूका विषयमा पनि छलफल भएको छ ।

एमालेले वडाकेन्द्रित तीन महिने संगठनात्मक कामलाई प्रभावकारी बनाउने, विभिन्न प्रदेश कमिटीमा भएको सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

‘माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने । अभियानमा सम्पूर्ण पार्टीपङ्क्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने’, एमालेले भनेको छ ।

‘अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेका प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने’, एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेले भनेको छ, ‘पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरी सनराईज हलमा आयोजना गर्ने ।’

एमालेमा समाहित हुन चाहने नेता र दलहरूको पूर्वसर्तका बारेमा पनि छलफल भएको बुझिएको छ । एमालेले राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमलाई पार्टीमा भित्र्याउने विषयमा खासै रुचि देखाएको छैन । सचिवालय बैठकमा गौतमलाई एमालेलेमा भित्र्याउँदा हुने क्षतिका विषयमा पनि छलफल भएको थियो ।

यद्यपि, एमालेले राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । गौतमका विषयमा एमालेले ठोस निर्णय गरेको छैन । गौतमले बेलाबेला एमालेलाई क्षति गर्दै आएका छन् । गौतमप्रति एमालेका धेरै नेताहरू सकारात्मक छैनन् ।

Published : Wednesday, 2025 January 22, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया