रगत नजम्ने वंशाणुगत हिमोफिलिया रोगका बिरामीलाई महँगो पर्ने औषधि निःशुल्क
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने निर्णय गरेका छन् ।
यो औषधि निकै महँगो पर्छ । औषधि निःशुल्क उपलब्ध गराउने बिरामी र उनीहरूका आफन्तले माग गर्दै आएका बेला मन्त्री पौडेलले औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गराएका छन् ।
औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ ।
‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौं’, स्वास्थ्यमन्त्री पौडेलले भने ।
नेपालमा हाल करिब ९ सय जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ ।
२०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया