यो हो देउखुरीको ५५ झ्याले भवन, दाङको शान

लमही । कुनै बेला ५५ वटा झ्याल भएकै कारण राजपरिवारको मुद्धा खेपेको दाङ जिल्लाको देउखुरीमा रहेको भवन पछिल्लो समय संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

देउखुरी गढवा गाउँपालिका वडा नम्बर–३, गोवरडियामा रहेको तत्कालीन राजपरिषद्का सभापति परशुनारायण चौधरीको ५५ झ्याले दरबार संरक्षण नहुँदा भत्किन थालेको छ ।

यो भवन वि.स. २०३८ सालदेखि २०४८ सालसम्म दश वर्षको अवधिमा निर्माण सम्पन्न भएको थियो । राजपरिषदका सभापति परशुनारायण चौधरीका बाजे जोखनप्रसाद चौधरीले भारतको गोरखपुरवाट कालिगढ मगाएर भवन निर्माण गरेका थिए । मासको पिठो, ढुङगाको धुलोसँगै बालुवाबाट भवन निर्माण गरिएको थियो ।

भवन निर्माण गरेसँगै भवनको टपमा चार वटा सिंहको मूर्ति राखेको कारण र भवनमा ५५ वटा झाल बनाएकै कारण चौधरी परिवारले दश वर्षको अवधिमा तत्कालीन सरकारबाट दुई पटक मुद्धा खेप्नु परेको परशुनाराय चौधरीका नाती मनोज चौधरीले बताए ।

तत्कालीन समयमा सिंहदरबार जस्तो भवन निर्माण गरेको र भवनको टपमा सिंह र हात्तीको मूर्ति राखेकै कारण चौधरी परिवारले मुद्धा खेप्नु परेको थियो । पछिल्लो समय उक्त भवनको संरक्षण नहुँदा भत्कन थालेको छ ।

भवन अत्यन्त जीर्ण भएसँगै तत्कालीन समयमा परशुनारायण चौधरी बस्ने गरेको कोठाको तला खसेसँगै भवन भत्कन थालेको छ । भवन अत्यन्त ठूलो भएको र घरमा धेरै व्यक्तिको स्वामित्व भएका कारण कुरा नमिल्दा भवन संरक्षणमा समस्या देखिएको मनोज बताए ।

‘भवन संरक्षणको लागि कुरा हुने गरे पनि परिवारका अधिकांश सदस्यहरू अमेरिकामा रहेकाले भपन निर्माण गर्ने छलफल समेत भएको छैन’, मनोजले भने, ‘घरको संरक्षण गर्न सके पुर्खाको चिनो संरक्षणसँगै आफनो परिवारको इज्जत बढ्ने थियो ।’

३६ वटा कोठाहरू रहेको उक्त भवन झण्डै पाँच कठ्ठा जमिनमा फैलिएको छ । ३६ कोठामध्ये अहिले जम्मा दुईवटा कोठाहरू मात्र प्रयोगमा रहेको चौधरी परिवारकी सदस्य बालकुमारी चौधरीले बताइन् ।

धेरै पहिले बनेको भवन पुरानो भएको र संरक्षण नहुँदा असुरक्षाका कारण अधिकांश परिवारहरू बाहिर घर निर्माण गरेर बस्न थालेका छन् ।

भवन संरक्षणसँगै पर्यटकीय रुपमा विकास गर्नका लागि जिल्ला विकास समितिले पनि पहल गरेको मनोजको भनाई छ ।

मनोजका अनुसार चार–पाँच महिना पहिले यो घरको अध्ययन गर्न काठमाडौंबाट टोली आउने भनी फोन आएको थियो । अहिलेसम्म कसैले भवन निर्माणको पहल गरेका छैनन् । यो भवनलाई थारु सांस्कृतिक संग्राहलयको रुपमा विकास गर्न सकिने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।

भवनको संरक्षणसँगै पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि भवनलाई ‘परशुनारायण चौधरी थारु संग्रालय’का रुपमा आफूले विकास गर्ने सोच बनाएको परिवारजनले बताएका छन् ।

Published : Saturday, 2018 January 27, 8:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया