योगी आदित्यनाथका विशेष दूत अचानक काठमाडौंमा

ठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विशेष सहयोगी एवम् देवी पाटन मन्दिर, बलरामपुर तुलसीपुरका महन्थ मिथिलेश नाथ महाराजसहितको तीन सदस्यीय टोली काठमाडौं आएको छ ।

शनिबार अपरान्ह चार बजे काठमाडौं आइपुगेको यो धार्मिक टोलीले पशुपति नाथका मूल भट्ट (प्रधान अर्चक) रावल गणेश भट्टसँग भेटवार्ता गरेको नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले जानकारी दिए । सो भेटमा नेपाली कांग्रेसका प्रदेश नं. ३ का सांसद नरोत्तम बैद्यको समेत सहभागिता रहेको थियो ।

महन्थ मिथिलेश नाथ महाराज नेतृत्वको टोलीमा योगी विनोद नाथ र योगी दीनानाथ पनि सहभागी रहेका छन् । यद्यपि, उनीहरूको भ्रमण पशुपतिनाथ मन्दिको दर्शनका लागि मात्रै रहेको सांसद शाहले बताएका छन् ।

नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग चलिरहेका बेला उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका सहयोगहरूले धार्मिक भ्रमण गरेका छन् ।

पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टसँगको भेटवार्ताका क्रममा नेपालमा हिन्दूधर्मप्रतिको आस्था र नेपाल–भारतबीचको सांस्कृतिक एवम् धार्मिक सम्बन्धका बारेमा कुराकानी भएको सांसद शाहले बताए ।

सो भेटवार्तामा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १७ को चौघेरामा रहेको श्री गोरक्षरत्ननाथ मन्दिरबाट प्रत्येक वर्ष ‘देउता’लाई देवी पाटन मन्दिरमा लैजाने परम्पराका विषयमा समेत कुराकानी भएको सांसद शाहले बताए ।

कांग्रेस सांसद शाहकै निमन्त्रणामा धार्मिक भ्रमणका लागि यो टोली काठमाडौं आएको हो । पशुपति नाथको मन्दिरमा विशेष पूजा गरेर केही धार्मिक अगुवा नेताहरूसँग पनि दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्धका बारेमा परामर्श गर्ने शाहले बताए ।

Published : Saturday, 2018 January 27, 9:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया