ओलीका कारण जनार्दनको मन्त्री गुम्यो, तनावमा पोखरेल

काठमाडौं । पावरफुल मन्त्रालय ताकेका जनार्दन शर्माले यस पटक मन्त्री पद नपाउने निश्चित सरह भएको छ ।

प्रधानमन्त्री केपी ओलीले शर्मालाई राम्रो मन्त्रालयमा सिफारिस गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेपछि यस्तो अवस्था आएको हो ।

केही दिन अगाडि बसेको पार्टी एकीकरण संयोजन समितिको बैठकमा ओलीले सबै शीर्ष नेताहरू सामुन्ने जनार्दन शर्मालाई अलिक राम्रो मन्त्रालय दिएर सिफारिस गर्न प्रचण्डलाई आग्रह गरेपछि नारायणकाजी श्रेष्ठले आँखा तरेको उच्च स्रोतले जनाएको छ ।

‘एमाले र माओवादीका सबै शीर्ष नेताहरूको बैठकमा ओलीजीले जनार्दनको नाम नै तोकेर राम्रो मन्त्रालयमा सिफारिस गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि बैठकमा माओवादीका नेताहरूबीच हेराहेर भयो’, बैठकमा सहभागी एक नेताले भने,‘ओलीको त्यो भनाइले माओवादीभित्र हल्लीखल्ली मच्चिएको थियो ।’

संयोजन समितिको बैठकपछि प्रचण्डको खुमलटारमा बसेको माओवादीका शीर्ष नेताहरूको बैठकमा शर्माका बारेमा नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए ।

‘देख्नुभयो ? पार्टी एकीकरण नहुँदै जनार्दनजीले ओलीसँग साँठगाँठ गरिसक्नुभए छ’, श्रेष्ठको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘पार्टी एकीकरण भयो भने के होला ? यस्ता व्यक्तिलाई पार्टीमा अगाडि बढ्न दिनु हुँदैन । मन्त्री पनि बनाउनु हुँदैन ।’

नारायणकाजी श्रेष्ठको कुरा सुनेपछि प्रचण्ड पनि झस्किएको स्रोतको भनाई छ । प्रचण्डले शर्मालाई मन्त्रीमा सिफारिस नगर्ने योजनामा रहेका छन् । शर्माले गृहमन्त्री वा उर्जा मन्त्रालय लिएर ओलीसँग मिलेर कमाउने योजना बनाएका थिए । तर, ओलीकै कारण शर्मालाई ठूलो धक्का लागेको छ ।

यता, एमालेका महासचिव ईश्वर पोखरेलले ओलीबाट धोका भएको भन्दै आफ्नो गुटभित्र दुखेसो गर्ने गरेका छन् । कान्तिपथस्थित राप्रपाका एक नेताको होटेलमा गुटको भेला राखेर पोखरेलले ओलीले राम्रो मन्त्रालय नदिएको भनेर रिस पोखेका हुन् ।

स्रोतका अनुसार पोखरेलले अर्थ वा अन्य राम्रो मन्त्रालय मागेका थिए । ओलीले सुरुमा अर्थ मन्त्रालय दिने भनेर आश्वासन दिएका थिए ।

यद्यपि आफ्नै जिल्लाका युवराज खतिवडालाई अर्थ मन्त्रालय दिएपछि पोखरेल ट्वाँ परेका थिए । पोखरेलले अहिले कुनै काम नरहेको रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Published : Thursday, 2018 March 15, 5:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया