सचिव सरुवामा आयो ओलीको जवाफ, खुमलटारमा तरङ्ग

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्रालयका सचिवहरूको सरुवामा कसैको सहमति वा अनुमति आवश्यक नपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार रिमालले सचिव सरुवाबारेमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी दिएको बताए ।

‘सचिव सरुवामा प्रचण्डलाई जानकारी दिएको हो, प्रधानमन्त्रीले उहाँको स्वीकृति लिनु पर्दैन’, उनले भने, ‘सचिव सरुवाको विषयमा प्रधानमन्त्रीको अधिकारको कुरा हो ।’

प्रधानमन्त्रीका सल्लाहकार रिमालले माओवादीका मन्त्रीहरूले नबुझेर सचिव सरुवाको विषयमा अनावश्यक टिकाटिप्पणी गरेको बताए । ‘गृहमन्त्रीले असन्तुष्टि जनाएको उचित होइन’, उनले भने, ‘प्रधानमन्त्रीले सबै मन्त्रीलाई सचिव सुरुवाका विषयमा भन्नुभएको थियो ।’

मन्त्रीले सचिव र सचिवले मन्त्रीको अनुगमन गर्ने तयारीका साथ सचिवहरूको सरुवा गरिएको रिमालले बताए । ‘सचिवले काम गरेन भने पछि सल्लाह गरौँला । अहिलेलाई सुरुवा भएका सचिवहरू यथावत रहन्छन्’, उनले भने ।

सचिव सरुवाप्रति माओवादीका मन्त्रीहरूले चरम असन्तुष्टि जनाइ रहेका बेला प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले प्रचण्डसँगको सल्लाहअनुसार सरुवा गरिएको बताएका हुन् ।

संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको भन्दै सल्लाहकार रिमालले भने, ‘उपेन्द्र यादवजीको पार्टीमा समस्या छ । हामीमा कुनै समस्या छैन ।’

संघीय फोरमसँग कुनै पनि अनुचित सहमति नहुने उनले बताए । ‘वाम गठबन्धनको सरकार हो । यसका आफ्नै नीति तथा कार्यक्रम र निर्वाचनको बेलाको घोषणापत्र छ’, रिमालले भने, ‘उपेन्द्रजीहरूसँग कुनै पनि प्रकारको सहमति वा कार्यक्रम हुँदैन ।’

Published : Tuesday, 2018 April 10, 11:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया